– बलराम बानियाँ
काठमाडौ – सरकारले प्रति १० ग्राम सुनको भन्सार मूल्य १ हजार ५ सय बनाएको छ । यसअघि पहेंलो धातुको भन्सार मूल्य प्रति १० ग्राम १ हजार मात्र थियो ।
नेपालमा भन्दा भारतमा सुनको मूल्य कम भएका कारण चोरी निकासी हुने गरेकाले भन्सार मूल्य बढाउन सुनचाँदी व्यवसायी संघले अनुरोध गरेको थियो ।
यस्तै चाँदीको भन्सार मूल्य प्रतिकिलो २ हजार ४ सयबाट बढाएर ४ हजार ६ सय बनाइएको छ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीका अनुसार मंगलबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
त्रिपाठीले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यमा मधेसी मोर्चाका तर्फबाट अब्दुल रहिम मिग्रानीलाई मनोनयन गरेको छ । यसैगरी महाबीर जैनको जन्मजयन्तिमा जैन धर्मावलम्बीलाई बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।
दलित र गैर दलितबीचको बिबाहलाई प्रोत्साहन गर्न रु एकलाख दिने पूर्व निर्णयलाई यथावत गरेको पनि त्रिपाठीले जानकारी दिए । काठमाडौं भीमफेदी हेटौंडा सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्न सरकारले निजी क्षेत्रलाई अनुमति दिएको छ ।