अमेरिकी चर्चित पप गायिका एवं अभिनेत्री ह्विट्नी ह्युस्टनको ४८ वर्षको उमेरमा लस एन्जेलसमा निधन भएको छ । ह्युस्टनको वेभेर्ली हिल्टन होटलमा निधन भएको प्रहरीले जनाए पनि निधन के कारणले भएको हो भन्ने खुलेको छैन ।
पप गायिकाको सूचीमा आफुलाई अब्बल सावित गर्न सफल ह्युस्टनले आई विल अलवेज लभ यु, सेभिङ अल माई लभ फर यु जस्ता चर्चित गाएकी छन् ।
न्यू जर्सीमा बाल्यकाल बिताएकी ह्युस्टनले शुरुमा चर्चमा र पछि नाइट क्लबहरुमा गाउँदै आफ्नो गायन यात्रालाई अगाडि बढाएकी थिइन् ।
८० र ९० को दशकमा ह्युस्टनले संगीत क्षेत्रका विभिन्न अवार्ड जित्न सफल भएकी थिइन् । ह्युस्टनले बडिगार्ड चलचित्रबाट यात्रा शुरु गरेर अभिनयमा आफुलाई खरो उतारेकी थिइन् । पछिल्ला वर्षमा भने लागु औषध प्रयोगका कारण उनको स्वर बिग्रिएको थियो ।