लोडसेडिङ एक घण्टा घट्यो

आजबाट लोडसेडिङ एक घण्टा घटेको छ । साताका दुई दिन दैनिक १४ घण्टा हुने लोडसेडिङलाई आजदेखि दैनिक १३ घण्टामा झारिएको छ । नेपाल विद्युत प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेर लोडसेडिङ घटेको जनाएको छ ।

 

अब दैनिक कम्तिमा १० र बढीमा १३ घण्टासम्ममात्र लोडसेडिङ हुनेछ । प्राधिकरणको लोडसेडिङ तालिका अनुसार सातामा दुई दिन १३ घण्टा, एक दिन १२ घण्टा, दुई दिन ११ घण्टा र बाँकी दुई दिन १० घण्टाका दरले बत्ति जानेछ । सातामा ८८ घण्टाको दरले हुँदै आएको लोडसेडिङ आजदेखि ८१ घण्टामा झारिएको प्राधिकरणले जनाएको छ ।

 

लोडसेडिङ बिहान र रातिको पिक आवरमा बढी गरिएको छ । गत पुस ३ देखि सुरु गरेको १४ घण्टाको लोडसेडिङलाई अहिले घटाइएको हो । कुलेखानी आयोजनामा अझै पनि पानी पर्याप्त रहेको र मध्यमस्र्याङदीको मर्मत समेत पूरा भएकोले लोडसेडिङ घटेको हो ।

 

बढी बिजुली चुहावट हुने स्थानहरुमा थप ५ घण्टा लोडसेडिङ हुने प्राधिकरण्ँले जनाएको छ। ५० प्रतिशत चुहावट हुने स्थानमा थप दुई घण्टा, ६० प्रतिशत हुने स्थानमा तीन घण्टा, ७० प्रतिशत चुहावट भएको स्थानमा ४ घण्टा र ७० प्रतिशतभन्दा बढी चुहावट भएका स्थानमा थप ५ घण्टा लोडसेडिङ हुनेछ ।

 

प्राधिकरण स्रोतका अनुसार तराईका जिल्लाहरुमा ८५ प्रतिशतसम्म चुहावट छ । प्राधिकरणले गत वर्र्षजस्तै यो वर्ष पनि दैनिक लोडसेडिङ १४ घण्टामै सिमित गरिने जनाएको छ ।