
कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान र समर इन्स्टिच्युट अफ लिङ्गुइस्टिक (एसआईएल) इन्टरनेसनलले आयोजना गरेका हुन् । ‘भाषाशास्त्रीले २१ औं शताब्दीको अन्तसम्ममा विश्वका १० प्रतिशतमात्र भाषा बाँच्ने भविष्यवाणी गरेका छन्’, भाषाशास्त्री डा. योगेन्द्र यादवले भने, ‘यो सन्दर्भलाई लिने हो भने नेपालका अधिकांश भाषा जोखिममा छन् । संरक्षणका निम्ति सरकारले कदम चाल्न जरुरी छ ।’
यादव र दुविनन्द ढकालले प्रस्तुत ‘नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा, सन्दर्भ र औचित्य’ शीर्षक कार्यपत्रमा भनेका छन्- ‘बालबालिकाले आफ्नो परिवार र समुदायको रहनसहन, रीतिरिवाज, संस्कतिबारे परिचत गराउने पठनपाठन गरिनु आवश्यक छ ।’ सरकारले आफ्नो कार्यक्रम तथा कार्ययोजनामा बहुभाषिक शिक्षा नीति लागू गर्ने कदम अघि बढाएकाले त्यसको कार्यन्वयनमा ढिलाइ गर्न नहुने बताए । तथ्याङ्कले देशमा ९२ भाषा रहेको देखाएको छ ।
एसआईएलकी बहुभाषिक शिक्षा अनुसन्धाता डा. पामेला म्याकेन्जीले भारत र बंगलादेशमा बहुभाषिक शिक्षा नीति लागू गरिसकेको बताए । ‘भाषा कुनै पनि जातिको पहिचान हो, भाषा लोप भए संस्कृति बाँच्न सक्दैन’, कार्यपत्र प्रस्तुत गर्दै उनले भनिन्, ‘नेपालले पनि बहुभाषिक शिक्षा नीतिलाई व्यावहारिक ढंगले लागू गर्न ढिलाइ गर्नु हुन्न ।’ यसैगरी सानो मुलुक पपुवान्युगिनीमा बोलिने ९ सय भाषामध्ये ५ सय भाषामा पठनपाठन व्यवस्था रहेको जनाइन् ।
अर्का भाषाशास्त्री अमृत योन्जन-तामाङले अन्तरिम संविधानले देशमा बोलिने सबै भाषा राष्ट्रभाषा भनेको उल्लेख गर्दै अब बन्ने संविधानले संघीय राज्य निश्चित गरे केही हदसम्म भाषाहरु बाँच्ने बताए । ‘राज्यले प्रस्तावित संघीय राज्यको तहगत ढाचामा थोरै जनसंख्या भएका समुदायलाई संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक छ ।’
संगोष्ठीका प्रमुख अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीले मुलुकका भाषाहरुको संवर्द्धन तथा सचेतना बढाउन अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा दुई दिने गोष्ठीको आयोजना गरिएको बताए । प्रज्ञा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार हुने ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०६८’ को उद्घाटन राष्ट्रपतिबाट हुने उप्रेतीले जनाए । महोत्सवमा ३५ भाषाका रचना वाचन गरिने मातृभाषा विभाग प्रमुख प्राज्ञ सुलोचना मानन्धरले बताएकी छन् ।
अन्तर्राष्ट्रिय मातृभाषा दिवसका सन्दर्भमा नेपाल प्रज्ञा-प्रतिष्ठान र समर इन्स्टिच्युट अफ लिङ्गुइस्टिक (एसआईएल) इन्टरनेसनलको संयुक्त आयोजना रहेको ‘नेपालमा मातृभाषा शिक्षाको महत्त्व’ विषयक संगोष्ठीमा विचार व्यक्त गर्दै भाषाविज्ञ टोली ।
गणेश राई/कान्तिपुर



