नेपालमा निजी विद्यालयको उपस्थिति थोरै तर ‘शक्तिशाली’ हुँदै

-अनमोलमणि पौडेल

 

काठमाडौ – नेपालमा निजी विद्यालयको उपस्थिति थोरै तर ‘शक्तिशाली’ हुँदै गएको छ । राज्यका हरेक क्रियाकलापमा समेत चुनौती दिने गरी हावी निजीले शिक्षा सेवा शुल्क कर नतिर्ने घोषणा दोहोर्‍याएर ‘चुनौती’ लाई निरन्तरता दिएका छन् । निजी विद्यालयको एउटा संस्था (प्याब्सन) को एघारौं महाधिवेशनले चुनेको नेतृत्वले पहिलोपल्ट शुक्रबार गरेको पत्रकार सम्मेलनमा पनि आफ्नो कुराको थालनी त्यही ‘१ प्रतिशत कर’ बाट गर्‍यो ।

‘हामी १ प्रतिशत कर संकलन गरेर राज्यलाई बुझाउन तयार छैनौं,’ प्याब्सनका नवनिर्वाचित अध्यक्ष बाबुराम पोखरेलले सञ्चारकर्मीसित भने, ‘प्याब्सन यसको खारेजी माग गर्छ । त्यसका लागि अर्थ र शिक्षा मन्त्रालयले एउटा समिति बनाएर अध्ययन गर्ने तयारी गरिरहेका छन् ।’

२०६५ मा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईका कार्यकालमा लागू ५ प्रतिशत शिक्षा सेवा करको विवाद पछिल्लो चार वर्षदेखि यथावत् छ । यसबीचमा प्याब्सनको नेतृत्व गरेका तथा अन्य निजी शिक्षण संस्था चलाउनेहरू आफू कर तिर्दै अरूलाई नतिर्न उक्साइरहेका छन् ।

प्याब्सनका यसअघिका दुई अध्यक्ष भोजबहादुर शाह र राजेश खड्काको कार्यकाल कर खारेजीको मुद्दामा बहस गर्दै बित्यो । कर लागू भएका बेला अध्यक्ष रहेका शाह र त्यसपछि नेतृत्व सम्हालेका खड्का दुवैले त्यसको चर्को आलोचना गरे । बार्गेनिङपछि राज्यले ५ बाट घटाएर करलाई १ बनायो । त्यसपछिका अर्थमन्त्रीहरूले पनि त्यसलाई औचित्यपूर्ण ठानेर हटाएनन् । निजी शिक्षण संस्था सञ्चालकबाहेक कर संकलनको विरोधमा अरू छैनन् । मनमा केही ‘कालो’ नहुने हो भने कर संकलन गरेर राज्यको स्रोत बढाउन उनीहरू डराउनुपर्ने अवस्था छैन ।

सरकारले उनीहरूसित थप कर लिन लागेको थिएन । निजीमा पढ्ने विद्यार्थीका अभिभावकसित लिने शुल्कमा १ प्रतिशत -पहिले ५ पछि १) कर संकलन गरेर बुझाउन आग्रह गरेको थियो । सयौं रुपैयाँ मासिक शुल्क, हजारौं रुपैयाँ भर्ना शुल्क, पाठ्यपुस्तक, पोसाक तथा अन्य सानातिना कुरामा पनि मोटो शुल्क तिरिरहेका अभिभावकका लागि राज्यलाई १ प्रतिशत कर तिर्नु ठूलो कुरा छैन । ‘हामी बिचौलियाको काम गर्दैनौं,’ निवर्तमान अध्यक्ष राजेश खड्काले भने, ‘राज्यले निःशुल्क शिक्षा घोषणा गर्दै विद्यार्थीमाथि कर लिनु अपराध हो ।’ १ प्रतिशत करलाई निजीले ‘अपराध’ देख्नु ‘बिचौलिया’ बन्न नचाहनुको भित्री कारणचाहिँ आफ्नो खास हिसाब बाहिर आउने डर नै हो ।

शिक्षा विश्लेषकहरूका शब्दमा सञ्चालकले विद्यार्थीमाथि देखाएको करमाथिको ‘दया’ हास्यास्पद छ । बर्सेनि शुल्क बढाएर, शिक्षक/कर्मचारीलाई तोकिएभन्दा कम तलब दिएर र विद्यार्थी विवरणभन्दा फरक आय देखाइरहेका उनीहरूले कर संकलन गर्दा वास्तविक हरहिसाब बाहिर आउँछ । जुन सञ्चालकहरू देखाउन चाहँदैनन् । राज्यले तोकेको काम गर्दिन भनेर राज्यलाई असहयोग गर्नु अपराध हो । सञ्चालकलाई व्ययभार नपर्ने गरी कर उठाइदेऊ भन्दा नमान्नुले उनीहरूको नियत के हो प्रस्ट पार्छ । बास्केट वा कुनै कक्षागत विद्यार्थीबाट रकम उठाउने कुरामा भने उनीहरू सकारात्मक छन् । उनीहरूको आपत्ति विद्यार्थीको टाउको गनेर लिने शुल्क र त्यसैअनुसार उठाइदिनुपर्ने १ प्रतिशतमा मात्रै छ ।

निजी विद्यालय सञ्चालक भने आफूहरूले आयमा २५ प्रतिशत र घरबहाललगायत कर तिरिरहेकाले १ प्रतिशत कर नउठाउने दाबी गर्छन् । यो सेवा सञ्चालन गरेबापत अनिवार्य तिर्नुपर्ने कर हो । यसलाई बहाना बनाएर उनीहरू वास्तविक हरहिसाब र आय लुकाउन खोज्दै छन् भन्ने प्रस्ट पार्छ । आयकर र घरबहाल कर तथा शिक्षा सेवा कर फरक विषय हुन् । राजधानीका ठूला भनिएका केही विद्यालयले कर बुझाएका पनि छन् ।

यसअघि निजी उच्च माविहरूकै अर्को संस्था ‘हिसान’को अधिवेशनमा पनि १ प्रतिशत कर नतिर्ने घोषणापत्र जारी भएको थियो । प्याब्सनमै आवद्ध विद्यालय सञ्चालकहरू हिसानमा पनि पदाधिकारी छन् । प्याब्सनको पूर्वअध्यक्ष उमेश श्रेष्ठ त्यसको अध्यक्ष छन् भने अहिले अध्यक्ष निर्वाचित पोखरेल हिसानका वरिष्ठ उपाध्यक्ष

हुन् । राज्यलाई असहयोग गर्ने निजी शिक्षण संस्थाको क्रियाकलापले उनीहरू ‘बढ्ता हावी’ हुँदै गएको प्रस्ट हुन्छ । निजीको दाबीअनुसार नेपालको शिक्षाको ३० प्रतिशत निजीले ओगटेको छ । देशको आर्थिक सर्वेक्षण हेर्ने हो भने उनीहरूको दाबी पनि हावादारी छ ।

आर्थिक सर्वेक्षणअनुसार विद्यालय तहमा १७ प्रतिशत र उच्च मावि तहमा १३ प्रतिशत निजीको सहभागिता छ । आम नागरिकको ठूलो हिस्सा अहिले पनि सामुदायिककै भरमा छ । कमजोर राज्य र उसको बेवास्ताका कारण साख गुमाउँदै गएका सामुदायिक निजीका अघिल्तिर कमजोर सावित भएका छन् राज्यमाथि निजी हावी हुन खोजेको छ । उनीहरूको ‘दादागिरी’ लाई राज्यले आवश्यकभन्दा बढी ‘स्पेस’  दिएको देखिन्छ ।

images

‘निजी विद्यालय सञ्चालकले अर्बौं रुपैयाँ बिदेसिनबाट जोगाएका छन् । हजारौं विद्यार्थीले छात्रवृत्ति तथा सहज रूपमा निजीमा पढ्ने अवसर पाएका छन् । राज्यले त्यसको मूल्यांकन गरेको छैन,’ प्याब्सनका वरिष्ठ सल्लाहकार उमेश श्रेष्ठ भन्छन्, ‘१ प्रतिशत कर उठाएन भनेर निजीलाई गाली गर्नुको अर्थ छैन ।’

पुँजी पलायन मदिरा र सुर्तीजन्य सामग्री उत्पादकले पनि रोकेका छन् । यदि स्वदेशमा त्यसको उत्पादन नहुने हो भने विदेशबाट निर्यात गर्नुपर्छ र पुँजी पलायन हुन्छ । एकजना शिक्षाविद् भन्छन्, ‘पुँजी पलायन रोक्नेलाई कर नउठाउने वा बिचौलिया नबनाउने नाममा तिनको जिम्मेवारी पनि खारेज गर्ने ?’

images

प्याब्सनको नयाँ नेतृत्वले कर खारेजीलाई प्राथमिकतामा राखेर राज्यलाई चुनौती दिने काम थालेको छ ।