पूर्वमेयर किरण सिंहको शव पोस्टमार्टमका लागि बुटवल पठाइयो, मृत्युबारे अनुसन्धान सुरु
श्रावण २५ गते, २०८३ मा प्रकाशित
कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको शव पोस्टमार्टमका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ। शुक्रबारदेखि सम्पर्कविहीन भएका सिंहको शव आइतबार कपिलवस्तुको गोरुसिंगे जंगलबाट फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहरप्रसाद भट्टका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन शव पोस्टमार्टमका लागि पठाइएको हो। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।
सिंहको परिवारले मृत्युको कारणबारे विस्तृत अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ। परिवारका अनुसार सिंह शुक्रबार दिउँसो आफ्नो निर्माणाधीन रिसोर्ट हेर्न जाने भन्दै मोटरसाइकल लिएर घरबाट निस्किनुभएको थियो।
जंगल क्षेत्रमा पुगेपछि बाटो पहिचान गर्न नसकी समस्या परेको भन्दै सिंहले परिवार तथा साथीहरूलाई फोनमार्फत आफू जंगलभित्र रहेको जानकारी गराउनुभएको थियो। त्यसपछि उहाँको खोजी कार्य सुरु गरिएको थियो।
प्रहरीले शनिबार सिंहले प्रयोग गरेको लु.प्र. ०१–०१३ प ७९७० नम्बरको मोटरसाइकल जंगलबाट फेला पारेको थियो। त्यसको भोलिपल्ट मोटरसाइकल भेटिएको स्थानभन्दा करिब ६ सय मिटर टाढा उहाँको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट प्रहरीले सिंहको साथमा रहेको मोटरसाइकलको चाबी, पर्सलगायत व्यक्तिगत सामानहरू समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घटना शंकास्पद नदेखिए पनि प्रहरीले सबै कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।
पूर्वमेयर सिंह नेपाली कांग्रेसका स्थानीय स्तरका सक्रिय तथा लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँको निधनले कपिलवस्तुको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ। प्रहरीले पोस्टमार्टम रिपोर्ट र थप अनुसन्धानपछि घटनाको वास्तविक अवस्था सार्वजनिक गर्ने जनाएको छ।