चैत ७ मा सुरु हुने एसएलसी परीक्षामा अनियमितता गर्नेलाई सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारी

काठमाडौ – एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कसुर हेरेर सार्वजनिक अपराधसम्मको मुद्दा लगाउने तयारी भएको छ । शिक्षामन्त्री दीनानाथ शर्माले चैत ७ मा सुरु हुने परीक्षा व्यवस्थापनबारे जानकारी दिँदै यस्तो बताएका हुन् । यसपालि देशभरका ५ लाख २८ हजार २ सय ५७ विद्यार्थी सहभागी हुँदै छन् ।

‘परीक्षाको गोपनीयता, सुरक्षा र शुद्धतामा प्रभाव पार्न खोज्ने कसैलाई छाडिँदैन,’ उनले सञ्चारकर्मीसित भने, ‘कसुर हेरेर सार्वजनिक अपराधसम्मको ऐन लगाएर कारबाही गर्न सकिन्छ । अनियमिता गर्ने कसैले राजनीतिक उन्मुक्ति पाउने छैनन् ।’ गत वर्ष एसएलसीमा चिट चोर्ने चोराउनेमध्ये सर्लाहीको एउटा केन्द्रमा छोरीलाई परीक्षा दिन लगाउने एमालेका एक सभासदबाहेकलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही भएको थियो ।

शिक्षामन्त्री शर्माले अनुशासित र मर्यादित परीक्षा चलाउने प्रत्येक जिल्लाका एउटा उत्कृष्ट केन्द्रलाई पुरस्कृत गर्ने बताए । ‘परीक्षा अमर्यादित बनाउन खोज्नेलाई अनुगमन गरेर खबर गर्न सबैलाई आग्रह छ,’ उनले भने । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसएलसीको सम्पूर्ण तयारी पूरा भएको छ । परीक्षा समितिका अध्यक्ष शिक्षासचिव किशोर थापाले परीक्षा अमर्यादित हुँदा आफ्नो विद्यालय, गाउँ र समुदायको इज्जत र अनुशासनमा दाग लाग्ने भएकाले सचेत रहन स्थानीय समुदायलाई आग्रह गरेका छन् ।

शिक्षा ऐनले परीक्षाको मर्यादा भंग गरे कसुर हेरी १ लाख रुपैयाँसम्म जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक डिल्ली रिमालले सरकारले परीक्षालाई मर्यादित गर्न कुनै कसुर बाँकी नराख्ने बताए । परीक्षाका लागि देशभर १ हजार ७ सय ४८ परीक्षा केन्द्र तोकिएको छ । परीक्षामा ५६ हजार शिक्षक कर्मचारी संलग्न हुने नियन्त्रक उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताए । कान्तिपुर