स्थानीय बजारमा यस साता सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा आइतबारको तुलनामा अन्तिम दिन शुक्रबार बहुमूल्य पहेलो धातुको मूल्य तोलामा 1 हजार 5 सय 50 रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजार मूल्यमा उच्च गिरावटले स्थानीय भाउ ओरालो लागेको हो, सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने, अमेरिकाको आर्थिक नीतिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ ।
यस साता अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्यमा 51 डलरले तल झरेको छ । आइतबार 1 हजार 7 सय 72 रहेको सुनको मूल्य शुक्रबार घटेर 1 हजार 7 सय 21 पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिआउन्स सुनको मूल्य 1 डलर घटबढ हुँदा स्थानीय बजारमा प्रतितोला सुनको मूल्यमा 25 देखि 30 रुपैयाँले घटबढ हुन्छ । स्थानीय बजारमा आइतबार प्रतितोला सुनको मूल्य 55 हजार 2 सय 50 रुपैयाँ कायम भएको थियो ।



