छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । गत फागुन १४ गते धनगढीमा राष्ट्रपति डा. रामबरण यादवले उद्घाटन गर्नु भएको प्रतियोगिता आज प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समापन गर्नु भएको हो ।
आज भएको महिला फुटबलको स्वर्णपदक सशस्त्र प्रहरीले जितेको छ । फाइनलमा सशस्त्रले जनमुक्ति सेनालाई २-० ले पराजित गर्दै स्वर्णमाथि कब्जा गरेको हो । निर्धारित समयमा दुबै पक्षबाट गोल हुन नसकेपछि अतिरिक्त समयको दोस्रो हाफको पहिलो मिनेटमै सशस्त्रकी प्रमिला राइले गोल गरिन् । त्यसको लगत्तै दिपा अधिकारीले सशस्त्रका लागि अर्को गोल थप्दै जित निश्चित गरिन् ।
यता, काठमाडौंको लैनचौरस्थित कवर्डहलमा सम्पन्न स्नुकरमा काठमाडौंका सरोजकुमार मुल्मीले स्वर्ण पदक जितेका छन् । मुल्मीले फाइनलमा ललितपुरका दिपजल ढुङ्गानालाई ६-२ ले पराजित गरे ।
यता, उसु महिलातर्फ सान्सौंमा पश्चिमाञ्चलकी झरना गुरुङ र सुदूरपश्चिमाञ्चलकी एलिना चौधरीले स्वर्ण पदक जिते । झरनाले ५६ केजी तथा एलिनाले ५२ केजी तौल समूहमा स्वर्ण चुमेका हुन् । यसैगरी, महिला ४८ केजी तौल समूहमा सुदूरपश्चिमाञ्चलकी हीरा चौधरीले, ६० केजीमा जनमुक्ति सेनाकी चाहना बम्जनले, ६५ केजीतर्फ मध्यमाञ्चलकी उर्मिला श्रेष्ठले, ७० केजी तौल समूहमा पूर्वाञ्चलकी तनुजा सुनदासले, पुरुष ८० केजी तौल समूहमा मध्यमाञ्चलका रमेश तामाङले स्वर्ण जिते । २२ स्वर्णका लागि प्रतिस्पर्धा भएको उसुमा मध्यमाञ्चलले आठ स्वर्ण जित्यो । जनमुक्ति सेनाले ६ स्वर्ण जित्यो भने पश्चिमाञ्चल, पूर्वाञ्चल, सशस्त्र प्रहरी र सुदूरपश्चिमाञ्चलले समान दुई-दुई स्वर्ण हात पारे ।
प्रतियोगितामा यसपटक सर्वाधिक स्वर्णपदक जितेर मध्यमाञ्चल शीर्ष स्थानमा रह्यो भने नेपाल प्रहरी दोस्रो तथा सशस्त्र प्रहरी तेस्रो स्थानमा रह्यो ।
छैटौं प्रतियोगिताको समापनसंगै सातौं राष्ट्रिय खेलकुदको आयोजना गर्ने जिम्मा पूर्वाञ्चलले पाएको छ ।



