सुनसरीमा फेरि वर्डफ्लु देखा परेपछि प्रभावित क्षेत्रका कयौ कुखुरा नष्ट

इनरुवा – सुनसरीमा फेरि वर्डफ्लु देखा परेको छ । नर्सिंह गाविसमा स्थानीय बासिन्दाले पालेको कुखुरामा बर्डफ्लु देखापरेको हो । नर्सिंह १ र ३ मा बर्डफ्लु देखापरेको जिल्ला पशु सेवाले जनाएको छ ।

 

स्थानीय रुक्सार खातुनको घरमा मरेको कुखुरामा उक्त रोगको जीवाणु देखापरेपछि क्षेत्रीय पशु सेवा निर्देशनालयले प्रभावित क्षेत्रका ४४ कुखुरा नष्ट गरेको छ ।

 

फागुन १३ गतेदेखि कुखुरा मर्न थालेपछि रुक्सार खातुनको घरमा मरेको कुखुराको नमुना परीक्षणका लागि पठाएकामा बर्डफ्लु जीवाणु भएको पुष्टि भएपछि पशु सेवा निर्देशनालयले प्रभावित क्षेत्रको कुखुरा नष्ट गर्न थालेको हो । मरेका कुखुरामा वर्डफ्लुको एच ५ एन १ जीवाणु भेटिएको कार्यालयले जनाएको छ ।

 

प्रभावित क्षेत्रमा क्षेत्रीय पशु सेवाका बोधप्रसाद आचार्य नेतृत्वमा कुखुरा नष्ट गरिएको कार्यालय प्रमुख मोहिनारायण चौधरीले बताए । माघ २१ गते सुनसरीको खनार र इटहरी क्षेत्रमा मरेका कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको थियो । – कान्तिपुर