नेपाली कांग्रेसद्धारा आफ्ना नेताहरुको विदेश भ्रमणमा रोक

काठमाडौ – नेपाली कांग्रेसले पनि आफ्ना नेताहरुको विदेश भ्रमण रोक लगाएको छ । एक कार्यक्रममा सहभागी हुन नेताहरुको ठूलो टोली शुक्रबार स्विट्जरल्यान्ड जान लागेकोमा आलोचना बढेपछि पार्टीले भ्रमणमा रोक लगाएको हो ।

कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव र केन्द्रीय सदस्यद्वय बिमलेन्द्र निधी र अर्जुननरसिंह केसी स्विट्जरल्यान्ड जाने सूचीमा थिए । पदाधिकारीको अनौपचारिक बैठकले नेताहरुको भ्रमण स्थगित गर्ने निर्णय लिएको केसीले बताए । ‘राष्ट्रिय आवश्यकता, शान्ति, संविधान र जनमतलाई कदर गर्दै विदेश भ्रमण स्थगित गरिएको छ,’ केसीले भने ।

माओवादी,कांग्रेस र मधेशी दलबाट १६ जना नेताहरु शुक्रबार स्विट्जरल्यान्ड जाने तयारी थियो । प्रमुख तीन वटै दलले भ्रमणमा रोक लगाएको छ । – कान्तिपुर