
खानी तथा खनिज पदार्थको अव्यवस्थित उत्खनन नियन्त्रण गर्न उत्खनित खनिजको परिमाण मापन गर्ने प्रविधि जडान गर्न तथा खानी तथा भूगर्भ विभागको संरचना प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथिको छलफलमा सहभागी विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । खनिज स्रोतको प्रभावकारी व्यवस्थापन, अनुगमन र उपयोगका लागि विद्यमान कानूनी तथा संस्थागत व्यवस्थामा सुधार आवश्यक रहेको उनीहरुको भनाइ छ ।


भूगर्भविद् रामप्रसाद घिमिरेले खानीबाट उत्खनन हुने खनिजको वास्तविक परिमाण यकिन गर्ने व्यवस्था विधेयकमा समेट्न सुझाव दिनुभयो । उहाँले खनिजको प्रकृतिअनुसार तौल वा आयतन मापन गर्ने उपकरण खानीका प्रवेशद्वारमै जडान गरी दैनिक अनुगमन गर्नुपर्ने बताउनु भयो । उहाँले खनिजको प्रकृतिअनुसार बहुमूल्य धातु किलोमा तथा अन्य खनिज टन वा घनमिटरमा मापन हुने भएकाले सोहीअनुसार उपकरण जडान गरी त्यसको विवरण खानी तथा भूगर्भ विभागलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । यसले निर्माणजन्य अनिजको अवैध उत्खनन नियन्त्रण गर्ने उहाँको विश्वास छ । खनिज उत्खननसम्बन्धी कसुरमा हुने सजायमा समेत कडाइ गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो जथाभावी उत्खनन गर्ने, परिमाण पनि सही ढंगले नतोकिँदा समस्या भएको छ । यसमा नयाँ प्रश्ताव का रुपमा हामीले उत्खनित खनिजको परिमाण यकीन गर्ने कुनै संयन्त्र राख्नुपर्ने भन्ने प्रश्ताव गरेको छु । खनिज विभागसँगको समन्वयमा दैनिक मोनिटरिङ हुने हिसाबले अहिलेको कुनै नयाँ प्रविधिको प्रयोग गरेर यस्तो कुनै खयन्त्र बनाउनुपर्छ । अब यो प्रिसियस मेटलको हकमा चाँही किलोमा तोकिन्छ भने अरू खनिजहरूमा टनमा तोकिन्छ, कतै क्युबिक मिटरमा तोकिन्छ । त्यो हिसावले कतै भोलुममा, कतै मासमा हुन्छ । त्यसै हिसावका यन्त्रहरू राख्नुपर्ने खानीद्वारहरूमा राखेको चाहीँ जानकारी दिनुपर्ने विभागलाई भन्ने कुरा थियो, त्यो हटेको रहेछ । यो राख्दा राम्रै हुन्छ भन्ने मेरो भनाइ हो । कसुर र सजायको कुरामा चाँही मेरो सेपरेट राय छ । अहिलेको प्रावधानले त्यस्तो गल्ती गर्ने मान्छेले फाइदा नै लिइरहेको हुन्छ । यदि सजाय दिनु नै छ भने भोलिको दिनमा त्यस्तो कार्य गर्न कनिरुत्साहित होस् भनेर सोचेर अलिक कडा नै राख्नुपर्छ ।’


वरिष्ठ भूगर्भशास्त्री तथा त्रिभूवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रिय विभागका प्रमुख डा. कविराज पौड्यालले खानी तथा भूगर्भ विभागको जिम्मेवारी र पहुँच प्रदेश तथा स्थानीय तहसम्म विस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले स्थानीय तहमा दक्ष जनशक्तिको अभाव देखाउँदै सबै जिम्मेवारी पुनः केन्द्रिय विभागमै केन्द्रित गर्दा प्रभावकारी अनुगमन र व्यवस्थापन हुन नसकेको उहाँको भनाइ छ । देशभर रहेका ढुंगा, गिट्टी, बालुवालगायत खनिज स्रोतको व्यवस्थापन सिमित जनशक्ति भएको केन्द्रीय विभागबाट मात्रै सम्भव नहुने भन्दै उहाँले प्रदेश र स्थानीय तहमा विभागका शाखा तथा उपशाखा स्थापना गर्नेगरी ऐन निर्माण गर्न सुझाव दिनुभयो । पौड्यालले खानी तथा भूगर्भसम्बन्धी पुराना तथ्यांक डिजिटल माध्यमबाट सार्वजनिक गर्न पनि सुझाव दिनुभयो । विगतमा राज्यले अर्बौं रुपैयाँ खर्च गरेर संकलन गरेका भूगर्भसम्बन्धी तथ्यांकलाई स्क्यान गरी वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । नेपालको विद्यालय तहको पाठ्यक्रममा समेत खनिज तथा भूगर्भसम्बन्धी विषय समावेश गर्नुपर्ने समेत उहाँको सुझाव छ । उहाँले नेपालका पहाडमा रहेको क्वार्टजाइटजस्ता खनिजको सम्भावना औँल्याउँदै यसको प्रशोधन र उपयोगबाट सिसा तथा सेमिकन्डक्टर उद्योगसम्म विकास गर्न सकिने सम्भावना रहेको बताउनु भयो । तर पर्याप्त अन्वेषण र तथ्यांक अद्यावधिक नहुँदा उपलब्ध स्रोतको उपयोग हुन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले जिम्मेवारीको कुरा गर्दा स्थानीय सरकारलाई इम्पवार नगर्ने भनिएको छ । खतर घुम्दै फिर्दै फेरी खनिज विभागमै ठोक्किने गरेको छ । किनभने स्थानीय तहमा दक्ष जनशक्ति छैन नि त । त्यसैले गर्दा अब प्रदेशमा र स्थानीय तहमा त जानुपर्ने बेला भयो । त्यहाँ पनि खानी विभागका शाखाहरु, उपशाखाहरु बनाउन सकिएन भने समस्या हुन्छ । खानी विभाग भित्रको लिमिटेड जनशक्ति, उहाँहरुले यो देशभरिको अघि रामप्रसाद सरले इन्डिकेट गर्नुभयो ढुङ्गा, गिट्टी, बालुवा हामीसँग कति छ ? यति ठूलो भण्डार छ नि, त्यसलाई त खानी विभागसँग आएर ठोक्किएर भ्याउँछ ? त्यो त भ्याउँदै भ्याउँदैन । त्यसैले यसको विस्तार स्थानीय तहसम्म जानैपर्छ र त्यहाँ पनि अब भूगर्भविद्हरु उत्पादन गर्नुपर्छ । हाम्रा भूगर्भविद्लाई रोजगारी र न्याय दिनका लागि र त्यसको विकास गर्नलाई हामीले स्थानीय तहसम्म विभागलाई पठाउन आवश्यक छ ।’


खानी इन्जिनियर तथा भूगर्भविद् डा. पुरुषोत्तमप्रसाद अधिकारीले नेपालको निर्माण सामग्रीसम्बन्धी खनिज स्रोतको व्यावसायिक उपयोग र निर्यातमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले नेपालमा उपलब्ध कन्स्ट्रक्सन स्टोन तथा रोडा–ढुंगाको उत्पादन र बजार विस्तार गर्दै बंगलादेश, भारतको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालसम्म निर्यातको सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले रोडा–ढुंगाको उत्खनन, उत्पादन र आपूर्तिका लागि खानी तथा भूगर्भ विभागमा मात्रै निर्भर नभई प्रदेशगत रूपमा सरकारी संयन्त्र वा निगम स्थापना गर्नुपर्ने प्रस्ताव अघि सार्नुभयो । त्यस्ता संस्थाले खनिज स्रोतको मूल्यांकन, सञ्चालन, उत्पादन र आपूर्तिको जिम्मेवारी लिनुपर्ने गरी ऐन निर्माण गर्न उहाँको सुझाव छ ।
उहाँले भन्नुभयो, ‘कन्स्ट्रक्सन स्टोन, रोडा ढुंगाको उपयोग अब खानी विभागले मात्र गर्न सक्दैन । तर नेपालको रिसोर्स जो छ नि, त्यही हो । त्यसैलाई लिएर हामी अगाडि बढ्नुपर्दछ । अब केहि छैन भने बंगलादेशले आफ्नो कन्स्ट्रक्सन स्टोनको लागि अरु ठाउँबाट डलरमा किन्छन् जब कि हाम्रो र बंगलादेशबीच २५ किलोमिटर मात्र दुरी छ । हामी हाम्रा निर्माण्जन्य खनिज पदार्थहरु त्यहाँ निर्यात गर्न सक्छौँ । इन्डियाको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा समेत हामीले निर्यात गर्न सक्छौँ ।’
विज्ञहरूले खानी तथा खनिज क्षेत्रको विकासका लागि उत्खननको पारदर्शी अनुगमन, दक्ष जनशक्ति, अद्यावधिक तथ्यांक, संघीय संरचनाअनुसार संस्थागत विस्तार र खनिजको व्यावसायिक उपयोगलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।




