
रुसको एक अदालतले हिन्दुहरुको पवित्र धार्मिक ग्रन्थ भागवत गीताको रुसी भाषा प्रकाशनमा रोक लगाउन गरिएको माग खारेज गरेको छ ।
साईवेरिया स्थित टोम्स्कको एक अदालतले गीताको रुसी भाषा संस्करणमाथि रोक लगाउने माग गरेर दिइएको निवेदन खारेज गरेको हो ।
निवेदनमा हिन्दुहरुको धार्मिक ग्रन्थले सामाजिक मतभेद बढाउने भन्दै प्रतिबन्ध लगाउन माग गरिएको थियो ।
अदालतको निर्णयपछि हिन्दू धर्मावलम्बीहरुले खुशीयाली मनाउदै रुसी न्याय व्यवस्था प्रति आभार व्यक्त गरेका छन् ।
भागवत गीताको रुसी संस्करणका सम्बन्धमा अदालतमा गत जुन महिना देखि बहस चलिरहेको थियो । साइबेरियामा डिसेम्बर महिनामै तल्लो अदालतले गीतामाथिको प्रतिबन्धको माग खारेज गरिसकेको थियो । तर फैसला विरुद्ध माथिल्लो अदालतमा अपील गरिएको थियो ।
रुसमा सन् १७८८ मा पहिलो पटक भागवत गीताको रुसी अनुवादपछि धेरै संस्करणहरु प्रकाशित भइसकेका छन् ।