नेपाली आयातकर्ताले भारतीय रुपैयाँमा सामान किन्न पाउने


काठमाडौ – भारतले अन्तशुल्क फिर्ता खारेज पछि देखिएको झझन्टलाई अन्त्य गर्दै नेपाली आयातकर्ताले भारतीय रुपैयाँमा सामान किन्न पाउने व्यवस्थालाई कायम गरेको छ। भारतको केन्द्रीय अन्तशुल्क तथा भन्सार बोर्डले मंगलबार सूचना जारी गर्दै भारतीय रुपैयाँमा नेपाली आयातकर्ताले सामान किन्न पाउने जनाएको छ।

 

‘नेपाली आयातकर्ताले भारतीय मुद्रा वा विदेशी परिवर्त्य मुद्रामा कारोबार गर्न पाउनेछन्,’ बोर्डले विज्ञप्तिमा भनिएको छ, ‘यो भारतीय केन्द्रीय बैंकको निर्देशन अनुसार हुनेछ।’

 

नेपाल -भारत व्यापारमा रहेको अन्तशुल्क फिर्ता मार्च १ देखि खारेज भएपनि अमेरिकी डलरमा सामान किन्नुपर्ने प्रावधानले नेपाली आयातकर्ता समस्यामा परेका थिए। भारतले स्पस्ट सूचना जारी नगरेर सामान समस्या भएपछि नेपालले दुई साता अघि औपचारिक पत्र पठाएर सहज बनाउन आग्रह गरेको थियो।


‘भारतले डिआरपी खारेजीपछिको समस्यालाई संबोधन गरेको छ,’ नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारकाले नागरिकसँग भने, ‘अब भारतबाट सामान ल्याउन देखिएको समस्या अन्त्य भएको छ।’


डलरमा सामान किन्नुपर्ने प्रावधानले केही उद्योगको कच्चा पदार्थ आउन नसकेर बन्द हुने अवस्थामा पुगेका थिए।
गुजरात र महाराष्ट्रको भन्सारले डलरमा वाहेक अरुमा कारोबार गर्न नपाउने प्रावधान लगाएपछि त्यहाँबाट सिमेन्टलाई चाहिने कच्चा पदार्थ आउन रोकिएको थियो जसका कारण उद्योग बन्द हुने अवस्थामा पुगेका थिए। उनले सिमेन्टलाई चाहिने कच्चा पदार्थ आउन सुरु हुने जानकारी दिँदै यसले उद्योग बन्द हुने अवस्था अन्त्य हुने बताए।

 

राष्ट्र बैंकले २ सय ५० वस्तु मात्रै डलरमा कारोबार गर्न पाउने व्यवस्थाले कच्चा पदार्थ ल्याउन समस्या परेको थियो। केही नेपाली आयातकर्ताले अन्तशुल्क बराबरको रकम धरौटी राख्नुपर्ने प्रावधान राखिएको थियो। डिआरपी फिर्ता पछि अतिरिक्त रकम राख्नुपर्ने प्रावधानले समस्या बल्भि्कएको उनीहरुको भनाई थियो।

 

– नागरिक