मौसमी खराबीले माओवादी पुष्पकमल दाहाल र महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण

– माधव अर्याल

 

पाल्पा  – मौसमी प्रतिकूलताले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कृष्णबहादुर महरा चढेको हेलिकोप्टर २० मिनेटका लागि तानसेन टुंडिखेलमा अवतरण गर्‍यो ।

रोल्पाको थवाङ्गमा कार्यक्रमबाट काठमाडौं हिँडेको अवस्थामा मौसममा आएको खराबीले तानसेन टुंडिखेलमा अवतरण गर्नुपरेको माओवादी जिल्ला इन्चार्ज वसन्त शर्माले बताए । उनका अनुसार निजी हेलिकप्टरमा आएका दुवै नेता चितवनसम्म पुगेर स्थलमार्गबाट काठमाडौं जाने बताएका थिए ।

जिल्ला इन्चार्ज शर्मा, सचिव नेत्रप्रसाद पाण्डेय लगायत जिल्लास्तरीय नेता कार्यकर्तालाई टुँडिखेलमै सम्बोधन गर्दै दाहालले शान्ति प्रक्रिया एउटा निकासमा पुगेपछि संविधान निर्माणको प्रक्रिया पनि अगाडि बढ्ने बताएका थिए । उनले शान्ति प्रक्रियालाई टुङ्ग्याउन पार्टी र आफ्नोतर्फबाट कुनै कसर बाँकी नराख्ने समेत बताएका थिए ।