वैदेशिक रोजगारका लागि क्यानडा, तान्जिनिया र साइप्रस पठाउने भन्दै एक करोड रुपैयाँ ठगी

– होम कार्की

 

काठमाडौ  – वैदेशिक रोजगारका लागि क्यानडा, तान्जिनिया र साइप्रस पठाउने भन्दै वल्र्ड इमिगे्रसन कन्सल्टेन्सीले एक करोड रुपैयाँ ठगी गरेको छ ।

अवैध काम गर्ने कन्सल्टेन्सी सञ्चालक काभ्रेका गुणराज लामालाई वैदेशिक रोजगार विभागले बिहीबार पक्राउ गरी अनुसन्धान थालेको छ । विभागले कन्सल्टेन्सीमा छापा मारी २० थान राहदानी बरामद गरेको छ ।

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार पीडितले उजुरी दिएपछि उक्त कन्सल्टेन्सीले अवैध काम गरिरहेको रहस्य खुलेको हो । वल्र्डले क्यानडा लैजाने भनी २० युवालाई तान्जानिया पुर्‍याएको थियो । त्यहाँबाट क्यानडा पठाउन नसकेपछि पीडित युवा स्वदेश फर्केका थिए ।

यसैबीच विभागले इजाजत नलिई म्यानपावर सञ्चालन गर्ने सुजित तकाली र चन्द्रलाल पुरीलाई पक्राउ गरेको छ । उनीहरूले मलेसिया लैजाने भनी ५ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।

यसैगरी, भक्तपुरका राजेश डंगोल र इन्द्रबहादुर थापा छेत्री १४ जनालाई मलेसिया पठाउने भन्दै ३४ लाख ठगी गरी फरार भएका छन् । ढंगोल र छेत्रीले मलेसियाको पानी जहाज कम्पनीमा लाख रुपैयाँ तलब पाउने भन्दै नक्कली करारपत्र देखाई एकदेखि चार लाख पचास हजार रुपैयाँ असुलेका थिए ।

उनीहरूले केदार कँडेल, थमन कँडेल, केदारनाथ कँडेल, तिलकबहादुर कँडेल, हर्कबहादुर थापा, भक्तबहादुर खत्री, कबबहादुर पाण्डे, ओमबहादुर थापा, कुलबहादुर दर्जी, कृष्णप्रसाद कँडेल, रमेश पौडेल, प्रेमप्रसाद सापकोटा र मदन भण्डारीलाई ठगी गरेका हुन् ।

म्यानपावरलाई वैदेशिक रोजगार विभागले कामदार ठग्ने म्यानपावर कम्पनीलाई क्षतिपूर्ति भराई थप एक लाख रुपैयाँ जरिवाना तोक्न थालेको छ । विभागले त्यसरी बढी रकम लिने राप्ती र मेची-महाकाली म्यानपावर कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना तोकेको छ । विभागले दुवै म्यानपावरलाई निलम्बन गरी उनीहरूको धरौटी काटेर कामदारले तिरेको पैसा फिर्ता दिलाएको छ । विभागले संयुक्त अरब इमिरेट्स पठाउने भनेर पूर्वश्रम स्वीकृति लिई नक्कली कागजात खडा गरी कुबेत पठाउने एमबिके म्यानपावर र पूर्वश्रम स्वीकृति नलिई १५ जनालाई पठाउन खोज्ने वी डन ओभरसिजको कामकारबाही स्थगन गरेको छ । वी डनका सञ्चालकले भने आफ्नो म्यानपावरको नाममा अरूले काम गरेकोबताएका छन् ।