सन् २०१२ मा नेपालको आर्थिक बृद्धिदर साढे चार प्रतिशत पुगे पनि आगामी बर्ष भने चार प्रतिशतमा सिमित

एसियालि विकास बैंकको प्रतिवेदन सार्वजानिक


सन् २०१२ मा नेपालको आर्थिक बृद्धिदर साढे चार प्रतिशत पुगे पनि आगामी बर्ष भने चार प्रतिशतमा सिमित रहने छ । एसियाली विकास बैंक एडिबीले बुधबार सार्वजनिक गरेको एशियाली विकास परिदृष्य (एडिबी आउटलुक २०१२) ले उक्त प्रक्षेपण गरेको हो । कृषि तथा सेवा क्षेत्रमा आएको सुधारले साढें चार प्रतिशतको आर्थिक बृद्धि हासिल हुने जनाइएको हो । वर्तमान परिवेस र औसत मौसमका आधारमा आगामी बर्ष २०१३ मा भने आर्थिक बृद्धि केही खुम्चने बैंकले जनाएको हो । साथै बैंकले यो बर्ष मुद्रास्फिति आठ प्रतिशत पुग्ने र अर्को बर्ष भने केही सुधार भएर सात प्रतिशतमा सिमित हुने पनि जनाएको छ । यो बर्ष पनि नेपालको व्यापार घाटाको खाडल अझै बढ्ने देखिएको छ । तर रेमिट्यान्समा जारी रहने बृद्धि, पर्यटन आयमा आउने सुधारले चालु खाता भने बचतमा रहने एडिबीको प्रक्षेपण छ ।


प्रतिवेदनले विकासोन्मुख एशियाको बृद्धिदर मन्द तर स्थिर रहने देखाएको छ । बैंकले विकासोन्मुख एशियामा कूल गार्हस्थ उत्पादन बृद्धिदर २०१२ मा ६ दशमलब नौ प्रतिशतमा सिमित रहने तर २०१३ मा ७ दशमलब तीन प्रतिशतसम्म पुग्ने अनुमान गरेको हो । यस क्षेत्रमा सन् २०१२ मा कमजोर बाह्य मागको भार पर्ने जनाइएको छ । तर अधिकांश अर्थतन्त्रमा बृद्धिदर सुदृढ रहने र २०१३ मा निजी खपत बढेर फेरी सशक्त हुने प्रतिवेदनले जनाएको हो । संसारकै दोश्रो ठूलो अर्थतन्त्र चीनले २०१२ मा साढें आठ प्रतिशत र २०१३ मा आठ दशमलब सात प्रतिशतको बृद्धि सहित यस क्षेत्रकै अगुवा गर्ने एडिबीको प्रक्षेपण छ । २०११ मा चीनले ९ प्रतिशत बढीको उच्च आर्थिक बृद्धि हासिल गरेको थियो ।