सिरहा । सिरहाको छुट्टा छुट्टै दुई स्थानमा सलहेस महोत्सवको आज आयोजना गरिएको छ । हरेक बर्ष मेला लाग्ने गरेको भए पनि यो वर्ष पर्यटन प्रवर्द्धनका लागि जिविस सिरहाको पहलमा फुलवारी महोत्सवको आयोजना गरिएको छ ।
महोत्सवको उद्घाटन गर्न राष्टपति डाक्टर रामवरण यादबले आज साढे १२ बजे फुलवारी क्षेत्रमा आउने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । त्यस्तै उद्घाटन कार्यक्रम सकाएर सिरहा सदरमुकाम पुगी त्यहाँ पनि महोत्सव उद्घाटन गर्ने बुझिएको छ ।
यसअघिका वर्षहरुझै यो बर्ष पनि सिरहाको फुलबारीस्थित हारम रुखको बोटमा फूल फुलेपछि भव्य मेला लागेको छ । नयाँ वर्षका दिन मात्र फूल्ने फूल हेर्नका लागि आज फूलबारीमा हजारौ श्रद्धालुहरुको भिड लागेका छन् ।
नेपालका विभिन्न जिल्ला र भारतको विहार, कोलकता, पटनालगायतबाट श्रद्धालुहरु लहानदेखि ४ किलोमिटर पश्चिममा रहेको यो आश्चर्य र अलौकिक फूलको अवलोकन गर्न आइपुगेका छन् ।
करिब १० विघा क्षेत्रफल भएको फुलबारीको बीचमा रहेको सल्हेश मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । मन्दिरमा श्रद्धालुहरु भाकल गर्दा मनोकामना पुरा हुने गरेकाले मिठाई र झाप चढाउने गर्छन् ।
परापूर्वकालमा सलहेस राजाको फूलबारी रहेको सो फूलबारीमा राजा सलहेसलाई उनकी प्रेमिका कुशमा मालिनीले विहानीपख फूलको माला लगाइदिने भएकाले वैशाख १ गते अर्थात आजको दिन बिहान दुवै जनाको प्रेमको प्रतिक माला आकारको फूल देखिने गरेको धार्मिक जनविश्वास छ ।
वि.स. १३२५ मा सिरहा जिल्लाको महिसोथा राज्यको राजा सलहेश र उनकी पे्रयसी मालिनीबीचको प्रेम विवाहका लागि प्रसिद्ध रहेको सलहेश फूलबारीमा प्रेम विवाह गर्दा दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास समेत रहिआएको छ ।
फूलबारीभित्र रहेको हारम रुखलाई युवायुवतीहरुले लव प्वाइन्टको रुपमा पनि लिने गरेका छन । युवायुवतीबीच हुने प्रेम कथालाई जीवन्तता प्रदान गर्न उक्त हारमको रुखलाई साक्षी मानेर विवाह गरे अमर हुने जनविश्वास रहिआएका कारण विहीबार एक दर्जन बढी युवायुवती विवाह गरेका छन् ।