बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको न्युयोर्कस्थित विमानस्थलमा हिरासत


नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेता शाहरुख खानलाई अमेरिकाको न्युयोर्कस्थित विमानस्थलमा अध्यागमन अधिकारीहरुले दुई घण्टा हिरासतमा राखेको विषयमा अमेरिकाले माफी माग्दै भारतीय कन्सुलेटलाई पत्र पठाएको छ।


 

अमेरिकाले औपचारिक माफी मागे पनि विदेश मन्त्री एसएम कृष्णाले पहिला नियन्त्रणमा राख्ने अनि माफी माग्ने, यस्तो कार्य दोहोरिनु अस्वीकार्य हुने प्रतिक्रिया दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।



 
घटनाप्रति कडा प्रतिक्रिया जनाउँदै भारतीय विदेश मन्त्रीले अमेरिकाका लागि आफ्ना राजदूत निरुपमा रावलाई अमेरिकी अधिकारीहरुसँग तत्काल कुरा गर्न निर्देशन दिएका थिए। ‘पक्रने अनि माफी माग्ने बानी जस्तो भइसक्यो, सँधै यस्तै गरी राख्न सकिँदैन’, उनले भने।

शाहरुख भारतबाट रिलायन्स इन्डस्ट्रीका अध्यक्ष मुकेश अम्बानीकी पत्‍नी निता अम्बानीका साथ निजी विमान चढी न्युयोर्कमा पुग्ने क्रममा नियन्त्रणमा लिइएका हुन्। अम्बानी र उनको समूहलाई अध्यागमनले तुरुन्तै क्लियर गरे पनि दुई घण्टापछि मात्रै शाहरुखलाई छाडेको स्रोतहरुलाई उद्‍धृत गर्दै पीटीआईले जनाएको छ।

४६ वर्षीय शाहरुख त्यहाँको यले युनिभर्सिटीमा दुई बजे पुगेर ४ बजे लेक्चर दिँदै थिए। हिरासतका कारण उनको लेक्चर छ बजे बल्ल सुरु भएको थियो। विश्वविद्यालयमा सम्बोधन गर्दै शाहरुखले जिस्कँदै भने, “जब जब मलाई आफूप्रति घमण्ड जाग्छ, तब तब म अमेरिकाको भ्रमण गर्छु। अध्यागमनका मान्छेहरुले स्टारडमबाट स्टारलाई लात्ताले हान्ने गर्छन्” उनले आफूलाई सँधै अमेरिकाको विमानस्थलमा हिरासतमा लिइने गरेको पनि सुनाए। उनले यो सहित तीन वा चार पटक आफूलाई हिरासतमा लिइएको विश्वविद्यालयमा विद्यार्थीहरुलाई सुनाए।

उनलाई किन नियन्त्रणमा राखिएको भन्ने बारे केही थाहा हुन सकेको छैन।