
उनी मन्त्रीलाई तपाइं भनेर सम्बोधन गर्छन् । त्यसैले वातावरण राज्यमन्त्री दुर्गादेवी महतोलाई भेट्न आउनेहरूलाई पत्तो नै हुँदैन, उनी राज्यमन्त्रीका पति हुन् भनेर । उनले आफूलाई मन्त्रीको श्रीमान् भनेर परिचय पनि गराउँदैनन् । मन्त्रीको स्वकीय सविच नै भनेर चिनाउँछन् ।
पत्नी र पतिले पाउने सुविधा पनि फरक छ । श्रीमान् भीम महतो मन्त्रीका स्वकीय सचिवको हैसियतले मासिक २१ हजार ८० रुपियाँ बुझ्छन् भने श्रीमती महतो राज्यमन्त्रीसरहको सुविधाबापत मासिक ३५ हजार ६ सय रुपियाँ बुझ्छिन् । आफ्नै श्रीमान्लाई स्वकीय सचिव बनाएकामा राज्यमन्त्री महतो खुसी पनि छिन् । श्रीमान्लाई स्वकीय सचिव बनाउँदा काम गर्न सजिलो भएको उनको भनाइ छ ।



