लेखा समितिद्धारा कर छलि गर्ने व्यक्ति, फर्म वा संस्थाको नाम एक साताभित्र सार्वजनिक गर्न निर्देशन

कर छल्ने व्यापारीको नाम सार्वजनिक गर्न अर्थ मन्त्रालयलाई निर्देशन


संसद्को सार्वजनिक लेखा समितिले कर छलि गर्ने व्यक्ति, फर्म वा संस्थाको नाम एक साताभित्र सार्वजनिक गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले अर्थ मन्त्रालयलाई कर छल्नेहरुको नाम सार्वजनकि गर्न निर्देशन दिएको हो । अर्थमन्त्री वर्षमान पुन र अर्थ सचिव कृष्णहरी बाँस्कोटासँग जानकारी लिएपछि एक साताभित्र कर छलि गर्नेको नाम सार्वजनिक गरी विवरण पेश गर्न निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।


समितिले कर छलि काण्डको अनुसन्धानमा संलग्न कर्मचारीको सरुवा नगर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । अर्थ मन्त्रालयले ५ सय १८ वटा कर छलिका घटनाबारे छानविन सम्पन्न गरेको जनाएको छ । यस्तै चालु आर्थिक वर्ष ०६८/६९ मा भएको बजेट निकासा र सबै मन्त्रालयको प्रगति विवरण बैशाख २० गते भित्र समितिमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले कानून बमोजिम बाहेक कुनै पनि आयोजनामा रकमान्तर नगर्न पनि निर्देशन दिएको छ ।