रियाल मड्रिडलाई निराश पार्दै बायर्न म्युनीख युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । गएराती स्पेनीस क्लव रियाल मड्रिडको मैदानमा भएको सेमीफाईनल दोस्रो लेगमा जर्मन क्लव बायर्न म्युनीख टाई ब्रेकरमा ३-१ ले विजयी भयो ।
पहिलो लेगको खेलमा २-१ ले पछि परेको रियाल मड्रिडले दोस्रो लेगको खेल २-१ ले आफ्नो पक्षमा पारेपछि समग्रमा ३-३ गोलको बराबरी भएको हो । खेलमा रियालका क्रिश्चीयानो रोनाल्डोले लगातार दुई गोल गरेपछि घरेलु टोली फाईनल नजिक पुगेको थियो ।तर २७ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै बायर्नका आर्यन रोबेनले जर्मन क्लवलाई फेरी खेलमा फर्काए ।यसपछि थपिएको ३० मिनेटमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाई ब्रेकरमा पुगेको हो ।
टाई ब्रेकरमा रियालका चर्चीत खेलाडीहरु क्रिश्चीयानो रोनाल्डो, काका र सर्जियो रामोसले गोल गर्न नसकेपछि पाहुना टोली बायर्न म्युनीख ३-१ ले विजयी भयो । बायर्न म्युनीखले अव फाईनलमा इंग्लीश क्लव चेल्सीको सामना गर्नेछ । पहिलो सेमीफाईनलमा वार्सीलोनालाई हराँउदै चेल्सी फाईनलमा पुगेको थियो ।युरोपीयन च्याम्पियन्स लिग फुटबलको फाईनल खेल आगामी मे १९ तारीखमा जर्मनीको म्युनीखमा हुनेछ ।



