जातीय संघीयताको माग गर्दै आजदेखि पोखरामा गुरुङ समुदायको सम्मेलन शुरु भएको छ । सम्मेलन सुरु हुन अघि पोखराको चिप्लेढुंगाबाट सुरु भएको -याली महेन्द्रपुल, नयाँबजार हँदै अमरसिंहचौर पुगेको थियो ।
-यालीमा गुरुङ समुदायका साँस्कृतिक भेषभूषा र झाँकी प्रदर्शन गरिएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा देशका विभिन्न जिल्लाबाट आएका १ हजार गुरुङ प्रतिनिधि सहभागी छन् । सम्मेलनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले जातीय आधारमा राज्य पुनर्संरचना नभए देशै ठप्प पार्ने चेतावनी दिएका थिए ।
यता, राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति, कास्कीले भने जातीय राज्यको बिरोधमा पोखरामा -याली निकालेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । सिर्जनाचोकबाट सुरु भएको -याली रत्नचोक, राष्ट्रबैंक चोक हुँदै सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको संयुक्त संघर्ष समितिका अध्यक्ष पदमबहादुर कार्कीले बतानुभयो ।
राज्यको पुनर्संरचना जाति, भाषा, धर्मको आधारमा हुन नहुने र नेपाली आर्य समुदायका खस क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी र दलित लगायतका जातीलाई अन्यबाट हटाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग उनीहरुको छ ।
जातीय सदभाव, जातीय संघीयताको विरोध, आर्य खस जातिलाई आदिवासीमा सूचिकृत गर्न दबाब दिने उद्धेश्यले संयुक्त संघर्ष समिति बनाइएको छ भने उनीहरुले आगामी २८ र २९ गते नेपाल बन्द आह्वान गरेका छन् ।