१० प्रदेश प्रस्तावको विरोधमा गरिएको कञ्चनपुर बन्द कार्यक्रम स्थगन

कञ्चनपुर । एकीकृत नेकपा (माओवादी)ले प्रस्ताव गरेको जातीय पहिचान सहितको राज्य पुनःसंरचनाअन्तर्गत १० प्रदेश प्रस्तावको विरोधमा गरिएको कञ्चनपुर बन्द कार्यक्रम स्थगन गरिएको छ ।

आन्दोलनरत पक्षको बैठकले आदिवासी जनजाति तथा थारू समुदायसित छलफल गरेर साझा एजेन्डा तय गर्न लागि जारी अनिश्चितकालीन बन्द स्थगन गरेको जनाइएको छ । आदिवासी जनजाति समुदायका अगुवाको सहभागितामा बृहत् गोलमेच सम्मेलन गरेर साझा एजेन्डा तय गर्नका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चा र नागरिक समाजद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

बन्द स्थगनको घोषणापछि यहाँको जनजीवन सामान्यतर्फ उन्मुख हुन थालेको छ । शैक्षिक संस्था, बजार, कलकारखाना र यातायातका साधन सञ्चालनमा आएका छन् । लगातारको तीन दिनको बन्दका कारण भीमदत्तनगर बसपार्कमा अलपत्र यात्रु लामो र छोटो दूरीका सवारी साधन सञ्चालनमा आएपछि बिहानदेखि गन्तव्यमा जान थालेका छन् ।
RSS