अदालत र पत्रकार आक्रमणपछि झण्डै वर्ष दिनदेखि फरार युथ फोर्सका इन्चार्ज पर्शुराम बस्नेतद्धारा मोरङ अदालतमा आत्मसमर्पण

अजित तिवारी

 

विराटनगर  – अदालत र पत्रकार आक्रमणपछि झण्डै वर्ष दिनदेखि फरार युथ फोर्स मोरङका इन्चार्ज पर्शुराम (कृष्ण) बस्नेतले सोमबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन्। अदालत परिसर पुगेका बस्नेतले आफ्ना कानुन व्यवसायीहरुको सल्लाहअनुसार पत्र बुझी बयान दिइरहेका छन्।

ताजा रिपोर्टअनुसार बस्नेतले नागरिककर्मी खिनाथ ढकालमाथिको आक्रमण बारेको बयान सकेका छन्। अदालत आक्रमण बारे बस्नेतको बयान चलिरहेको छ।

एमाले युथ फोर्सका थुप्रै समर्थकसहित बस्नेत त्यहाँ पुगेका हुन। उनले जुँगा पालेका छन् भने पहिलाभन्दा अलि गोरो देखिएका छन्।

अदालत परिसरमै बन्दी अभिषेक गिरीमाथि साङ्घातिक आक्रमण गराएलगत्तै त्यही समाचार लेखेको निहुँमा नागरिककर्मी खिलानाथ ढकालमाथि कुटपिट गरिएको थियो। पत्रकार ढकालमाथि आक्रमण गर्ने गिरोहका योजनाकार बस्नेत जेठको अन्तिम सातादेखि फरार थिए।

यता, बस्नेतले आत्मसमर्पण गरेलगत्तै सुरक्षा समिति मोरङको बैठक बसिरहेको छ। अदालत परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। सदा पोशाकका प्रहरी पनि अदालतमा खटाइएको छ।