घरजग्गाको कारोबारलाई गतिशिल बनाउन ब्याज दर घटाउन बैंकरहरुसँग माग

काठमाडौं, वैशाख १८ (नागरिक)- घरजग्गा व्यवसायीले सुस्ताएको कारोबारलाई गतिशिल बनाउन ब्याज दर घटाउन बैंकरहरुसँग माग गरेका छन्। व्यवसायी र बैंकरहरुबीच आइतबार भएको छलफलमा उनीहरुले अधिकतम ११ प्रतिशतको हाराहारीमा ब्याज दर कायम गरी यो क्षेत्रलाई गतिशित बनाउन माग गरे। घरजग्गा व्यवसायमा आएको मन्दीले व्यवसायी मात्र नभएर बैंक तथा वित्तिय संस्था पनि समस्यामा छन्।
एक बैंकरका अनुसार घरजग्गा व्यवसायीले ग्राहकको तर्फबाट केही लागत व्यहोर्ने भए व्याज घटाउन सकिनेमा बैंकरहरु सहमत भएका थिए।
अहिलेको घरजग्गाको प्रचलित १४ प्रतिशत व्याजदरलाई १० मा झार्न ४ प्रतिशत व्याज व्यवसायीले व्यहोर्नु पर्ने बैंकरहरुले प्रस्ताव गरे। केही वर्षअघि गाडीको बजार खस्किदाँ व्यासायीहरुले निश्चित प्रतिशत व्याज आफूले व्यहोरेर बैंकबाट ‘फाइनान्सिङ’ गराएका थिए। बैंकरहरुले यही ‘मोडल’ अनुसार गएर कारोबार बढाउन घरजग्गा व्यवसायीलाई प्रस्ताव गरेको एक बैंकरले नागरिकलाई बताए।
नेपाल जग्गा तथा आवास विकास संघ र वाणिज्य बैंकको छाता संगठन बैंकर्स संघका पदाधिकारीबीचको छलफलमा बैंकहरुले व्याजदर घटाउन व्यवसायीले पनि योगदान गर्नु पर्ने प्रस्ताव गरेका हुन्।
‘घरजग्गा व्यवसायमा साँच्चै अप्ठेरो परेको भए तिमीहरु पनि ब्याज दर घटाउन आफ्नै तर्फबाट केही योगदान गर भन्ने हाम्रो सुझाव छ,’ संघका अध्यक्ष तथा हिमालयन बैंकका प्रमृुख कार्यकारी अधिकृत अशोक राणाले आइतबार नागरिकसँग भने, ‘व्यवसायीले उपभोक्तालाई सस्तोमा घर दिने भएपछि कारोबार वढेर सवैको समस्या समाधान हुन्छ।’
राणाले व्यवसायीसँग तीन वटा विषयमा छलफल भएको जानकारी दिए। ‘व्याज दर बजारले निर्धारण गर्ने विषय हो। यो विस्तारै घट्नसमेत थालेको छ,’ उनले भने, ‘बैंक र राष्ट्र बैंकलाई गाली गर्न छाडेर व्यवसायी आफैले पनि कारोबार वढाउनतिर पहल थाल्नु पर्‍यो भन्ने हामीले सुझाव दियौं।’ उनले घरजग्गा व्यवसाय उकास्न उपयुक्त मूल्यका साथ व्यवसायीले ‘स्किम’ लिएर आए ‘फाइनान्सिङ’ का लागि बैंकहरु तयार रहेको जानकारी दिए।
व्यवसायीले भने कारोबार हुन नसकेर व्यवसाय नै संकटमा परेका बेला बैंकरले नै ब्याज दर घटाएर सहयोग गर्नु पर्ने बताएका थिए। ‘पहिलो पटक घर किन्ने ग्राहकका लागि ११ प्रतिशतभन्दा माथि व्याज नवढाउन आग्रह गरेका हौं,’ संघका अध्यक्ष इच्छावहादुर तामाङले भने। उनले व्याज दर नवढाउनका लागि बैंकर्स संघसँग औपचारिक सम्झौता नै गर्ने तयारी भइरहेको दावी गरे।
राणाले व्याज दर घटाउने सम्वन्धि सम्झौता गर्ने विषयमा कुनै किसिमका छलफल नै नभएको बताए।
छलफलमा व्यवासायीले पत्रपत्रिका मार्फत लिलामीको सुचना प्रकाशित नगर्न समेत आग्रह गरेका थिए। ‘बैंकले लिलामीको सुचना व्यवसायीलाई ऋण तिर्न दवाव दिनका लागि निकालेको भन्ने उनीहरुको वुझाइ रहेछ,’ संघका उपाध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले भने, ‘नाम निकाल्ने बैंकहरुको रहर नभइ वाध्यता हो। कानुनी प्रावधान अनुसार नै लिलामीको सुचना आएको हामीले बतायौं।’
व्यवसायीले ऋण पुर्नतालिकीकरण गर्नसमेत बैंकहरुसँग आग्रह गरेका छन्। ऋण पुर्नतालिकीकरण गर्दा व्यवासायीले भुक्तानीका लागि २ वर्षको समय थप पाउँछन्। तर यसका लागि कुल ऋण र व्याजको २५ प्रतिशत एकमुस्ट भुक्तानी गर्नु पर्ने कानुनी व्यवस्था छ। ऋण पुर्नतालिकीकरण भए बैंकहरुले पनि साढे १२ प्रतिशत मात्र नोक्सानी व्यवस्था गरे पुग्छ।
‘ऋण र व्याजको २५ प्रतिशत भुक्तानी गर्नुस् हामीलाई तालिकीकरण गर्न समस्या छैन भन्ने संघको तर्फबाट जवाफ थियो,’ राणाले भने। उनले बैंकमा धितोमा रहेको जग्गा व्यवसायीले आफैले विक्री गरेर पैसा उठाउने समेत विकल्प दिइएको जानकारी दिए। ‘व्यवसायी आफैले धितो सम्पति विक्री गरेर बैंकको पैसा फिर्ता गर्छ भने त्यसमा पनि हामी सहयोग गर्न तयार छौं,’ राणाले भने।
व्यवसायीले घरजग्गा तथा अपार्टमेन्टमा बैंकलाई लगानी गर्नसमेत आग्रह गरेका छन्। बैंकरहरुले राम्रो योजना आए लगानी गर्न कुनै समस्या नभएको बताएका छन्। ‘लगानी गर्न हामीलाई केही समस्या छैन। विगतमा दुरुपयोग नभएको र अनुसासित परियोजनामा लगानी गर्नु परे तयार छौं,’ पौडेलले भने।