भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी मोहन वैद्य पक्षको भनाइ

काठमाडौ – प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नेतृत्वमा बन्ने सहमतिको सरकारमा आफू पनि सहभागी हुने माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षले जनाएको छ । भट्टराई नेतृत्वको सरकारमा भने सहभागी नहुने बताएको छ ।

भट्टराई सरकारको राजीनामा माग्दै आएको वैद्य पक्षकी पोलिटब्युरो सदस्य पम्फा भुसालले सरकारको राजीनामापछि मात्र सहमतीय सरकारको वातावरण बन्ने बताइन् । ‘पहिले बाबुरामजीको सरकार जानुपर्छ,’ उनले भनिन्, ‘त्यसपछि बन्ने सहमतिको सरकारमा हामी पनि सहभागी हुन्छौं ।’ उनले भट्टराई सरकार बन्ने बेलामा मधेसी मोर्चासँग भएको ४ बँुदे सहमति खारेज नभएसम्म वर्तमान सरकार सहमतिकै बने पनि सहभागी नहुने जनाइन् ।

आफैंले भट्टराई सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने भएकाले कांग्रेसलगायतले त्यस्तो प्रस्ताव ल्याए समर्थन गर्न सकिने वैद्य पक्षको भनाइ छ । ‘अहिले पार्टी एउटै भएको हुनाले अविश्वास प्रस्ताव ल्याउन मिल्दैन,’ उनको भनाइ छ, ‘अरू कसैले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याए विचार गछौर्ं, किनकि हामी यो सरकार जाओस् भन्ने चाहन्छौं ।’

संस्थापनले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गरिरहेको उल्लेख गर्दै सरकार गिराउन कांग्रेस र एमालेसँग कुराकानी हुनु स्वाभाविक भएको भुसालको भनाइ छ । ‘बाबुरामजीहरूले सरकार टिकाउन मधेसी मोर्चासँग छलफल गर्न मिल्छ भने सरकार फेर्न अन्यसँग छलफल हुनु स्वाभाविक हो,’ उनको भनाइ छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल शान्ति, संविधान र सहमतिको सरकार प्याकेजमै हुनुपर्ने पक्षमा छन् । राष्ट्रपति कार्यकारी हुने शासकीय स्वरूपमा कांग्रेस, एमाले लचिलो भए दाहाल सहमतिको सरकारका लागि बाटो खोल्न तयार देखिएका छन् । दाहालनिकट पोलिटब्युरो सदस्य अग्नि सापकोटाले शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक भएको बताए ।

‘शान्ति, संविधान र सहमतिको सरकारको कुरा प्याकेजमै हुनुपर्छ भन्ने पार्टीको धारणा हो,’ उनले कान्तिपुरसँग भने, ‘शान्ति र संविधान निष्कर्षमा नपुर्‍याई सरकार फेर्ने कुरा अनावश्यक हो । यसमा शान्ति र संविधान अवरुद्ध गर्ने गन्ध लुकेको छ ।’ प्रधानमन्त्री भट्टराईले पनि आइतबार कान्तिपुरसँग कुरा गर्दै आफ्नै नेतृत्वमा सहमतिको सरकार बन्ने दाबी गरेका थिए ।

यसैबीच माओवादी र मधेसी मोर्चा भट्टराई सरकारलाई निरन्तरता दिने टुंगोमा पुगेका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने र वर्तमान सरकारलाई राष्ट्रिय स्वरूप दिने सहमति भएको नेताहरूले बताए ।

‘वर्तमान सरकारलाई बलियो गराउँदै शान्ति र संविधान समयमै जारी गर्ने सहमति भएको छ,’ बैठकमा सहभागी तमलोपाका नेता हृदयेश त्रिपाठीले भने । दुई पक्षले संविधान जारी नगरी सरकार परिवर्तन गर्न नहुने निष्कर्ष निकालेका थिए ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले शान्ति र संविधान अघि बढाउन सरकार बाधक नभएको उल्लेख गर्दै यही सरकारलाई राष्ट्रिय स्वरूप दिने निष्कर्ष निकालेको बताए । ‘शान्ति र संविधान अघि बढाउन सरकार प्रयत्नशील छ,’ उनले भने, ‘सरकार फेर्ने कुराले संविधान निर्माण अवरुद्ध गर्छ ।’

बैठकमा माओवादी अध्यक्ष दाहाल, प्रधानमन्त्री भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव पोस्टबहादुर बोगटी र मोर्चाका तर्फबाट उपप्रधान तथा मोर्चाका संयोजक विजयकुमार गच्छदार, तमलोपा अध्यक्ष महन्त ठाकुर, गणतान्त्रिक फोरमका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी, स्वास्थ्यमन्त्री राजेन्द्र महतो, सिँचाइमन्त्री महेन्द्र यादवलगायत नेताको उपस्थिति रहेको थियो । .- कान्तिपुर