स्थानीय मन्त्री टोपबहादुर रायमाझीद्धारा माओवादी वैद्य समुह फिरन्ते विद्रोही भन्दै नेतृत्व र सरकारलाई डगमगाउन नसक्ने चेतावनी


 

– टेकनारायण भट्टराई

 

पाल्पा – स्थानीय विकास मन्त्रीसमेत रहेका माओवादी नेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीका लुटेरा, डाहाडे र अवसरखोरहरु शान्ति र संविधान भाड्न तल्लिन रहेका बताएका छन्। उनले त्यस्ता प्रवृत्तिका नेतालाई फिरन्ते विद्रोही भन्दै पार्टी नेतृत्व र वर्तमान सरकारलाई डगमगाउन नसक्ने चेतावनी दिए।

 

१२३ औं मे दिवसको अवसरमा एकीकृत नेकपा माओवादी पाल्पाले तानसेनमा गरेको शुभकामना साट्ने कार्यक्रममा रायमाझीले पार्टीकैवैद्य समुहलाई ‘भाँडहरु’ को संज्ञा दिए र कार्यकर्तालाई नतर्सन ढाडस दिए। ‘युद्ध र आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्ने दायित्व बिर्सेर फेरी जंगल फर्कने सपना देख्नेहरु फिरन्ते, घुमन्ते विद्रोही हुन्,’ रायमाझीले कडा शब्द छान्दै भने, ‘आन्दोलनबाट देशको नेतृत्व गर्ने हैसियतमा पुगेको बेला लुटेर खाने सपना पालेका केही नेतालाई बेचैन भएको छ।’ उनले थपे, ‘एक पटक नुहाएको पानीले अर्को पटक नुहाउन मिल्दैन भनेजस्तै लडेर शक्तिमा आएको पार्टी पुनः लडाईमा फर्कन मिल्दैन।’


वैद्य समुहमा केही नेता साच्चिकै इमान्दार पनि रहेका भन्दै उनीहरुलाई भ्रममा पारेर भड्काउन खोजिएको उनले बताए। ‘राँका बाल्नु भो, कालो झण्डा देखाउनु भो, सडक जाम गर्नु भो,’ सरकार विरोधमा उत्रेका वैद्यपक्षलाई चुनौति दिँदै उनले भने, ‘तपाईहरुले गर्न बाँकी नै के छ र? मन लागेको गरे हुन्छ। केहि हुनेवाला छैन।’ उनले पार्टी विभाजन नहुने भन्दै टुक्रन चाहनेहरु विसर्जन र ध्वस्त हुने बताए।



शान्ति र संविधानको पक्ष र विपक्षकाबीच अहिले लडाँइ चलेको उनले बताए। ‘शत प्रतिशत जनता शान्ति र संविधानको पक्षमा छन्, सबै दलका ९९ प्रतिशत नेता पनि पक्षमै छन्,’ उनले भने, ‘राजावादी र युद्धको धंगधंगी बोकेकाहरु आन्दोलनबाट विकास भएको परिवर्तनका एजेण्डालाई ध्वस्त गरेर पछाडि फर्कन चाहेका छन्, त्यो संभव छैन।’ उनले जेठ १४ भित्र संविधान जारी हुने र वर्तमान सरकारकै नेतृत्वमा हुने बताए।


एकसय २३ बर्ष पहिले अमेरिकाको शिकागो सहरमा ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग सहित मजदुरहरुले आन्दोलन गरेको सम्झनामा हरेक बर्ष मे एक गते मे दिवश (मजदुर दिवस) मनाउने गरिएको छ।