पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण

नेपाल पत्रकार महासंघले श्रमजिवी पत्रकार ऐन लागू नगर्ने र पत्रकारलाई नियमित रुपमा पारिश्रमिक नदिने संचार गृहहरुलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । पत्रकार तथा कर्मचारीलाई नियमित रुपमा न्यूनतम पारिश्रमिक नदिने रेडियो तथा टेलिभिजनहरुको प्रसारण अनुमतिपत्र नविकरण नगर्न माग गर्दै महासंघले आज संचारमन्त्री राजकिशोर यादवको ध्यानाकर्षण गराएको हो । नेपाल पत्रकार महासंघ उपत्यका तथा प्रतिष्ठान शाखाहरुले आज राजधानीमा गरको कार्यक्रममा महासंघका अध्यक्ष शिव गाउँलेले असार मसान्तभित्र पत्रकारहरुको तलब चुक्ता नगर्ने र न्यूनतम पारिश्रमिक लागू नगर्ने रेडियो र टेलिभिजनहरुको लाइसेन्स नविकरण नगर्न आग्रह गर्नुभयो । अब पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तथा न्युनतम पारिश्रमिक लागू गराउन आन्दोलन र कानुनी लडाइ सँगै अघि बढाउने निष्कर्षमा पुगेको उहाँको भनाइ थियो ।

कतिपय टेलिभिजनहरुले ८ महिनासम्म पनि पत्रकारलाई पारिश्रमिक नदिई काम लगाएको भन्दै महासंघका पदाधिकारीहरुले त्यस्ता संचार गृहलाई सरकारले कारबाही नगनरे महासंघ आफैं ती संस्थामा ताला लगाउन बाध्य हुने चेतावनी दिएका छन् । महासंघ पदाधिकारीहरुको चेतावनीपछि संचारमन्त्री यादवले यस विषयलााई तत्काल कारवाहीमा लैजाने आश्वासन दिनुभयो ।

कार्यक्रममा प्रेस युनियनका अध्यक्ष किरण पोखरेल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष महेश्वर दाहाल, न्युतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्य, संचारिका समूहकी अध्यक्ष निर्मला शर्मा लगायतले श्रमजीवी पत्रकारको पक्षमा तत्काल काम गरेर देखाउन संचारमन्त्री यादवको ध्यानाकर्षण गराएका थिए । महासंघ काठमाडौं शाखाका अध्यक्ष गोविन्द चौलागाइले साना लगानीका मिडिया राज्यबाट उपेक्षित भएको भन्दै समानुपातिक विज्ञापन नीति तर्जुमा गर्न माग गर्नुभयो ।