नेपाल-भारत सीमा बेलहिया नाकाबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि

बुटवल – नेपालकै सबैभन्दा बढी स्थलमार्गबाट पर्यटक भित्रिने नेपाल-भारत सीमा बेलहिया नाकाबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ।

यो नाका हुँदै सन् २०१२ को अप्रिलमा ७ हजार ९ सय ५८ पर्यटक नेपाल भ्रमणमा आएको अध्यागमनमा कार्यालय बेलहियाले जनाएको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ३६ प्रतिशतले बढी हो।


अध्यागमन कार्यालयका अनुसार सन् २०११ को अप्रिलमा बेलहियाबाट पाँच हजार २३१ पर्यटक नेपाल भित्रिएका थिए। यो वर्ष एक हजार ९०९ जनाले बढेको कार्यालयले जनाएको छ।


गत महिना यस नाकाबाट नेपाल आएका पर्यटकमध्ये सबैभन्दा बढी म्यान्मारका दुई हजार २८५, श्रीलङ्काका एक हजार ३८२, थाइल्यान्डका एक हजार २७४, चीनका २४२ र दक्षिण कोरियाका २०४ जना रहेको अध्यागमन अधिकृत राजेन्द्र अधिकारीले जानकारी दिए।


बेलहियाबाट भित्रिने अधिकांश पर्यटकको गन्तब्य लुम्बिनी हो। भारतमा रहेका बुद्धसँग सम्बन्धित बोधगया, सारनाथ, कुशीनगर, राजगिर, नालन्दालगायतका ठाउँबाट बुद्ध जन्मस्थल लुम्बिनी आउने गर्दछन्।


यो नाका हुँदै नेपाल भित्रिएका करिब ९५ प्रतिशतभन्दा बढी पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी जाने गर्छन्।


सरकारले २०१२ लाई लुम्बिनी भ्रमण वर्ष मनाइरहँदा यहाँ आउने पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि व्यवसायीका लागि लाभदायक हुन सकेको छैन।


बेलहियाबाट यस वर्ष जनवरीमा सात हजार ९५८, फेब्रुअरीमा २२ हजार २६९ र मार्चमा २३ हजार ३०९ पर्यटक नेपाल आएका थिए।


पर्यटकलाई दिइने प्रवेषाज्ञाबाट अध्यागमनले करिव रु ८५ लाख राजस्व सङ्कलन गरेको छ। चीनसहित सार्क मुलुकका पर्यटकलाई भने पहिलो पटक नेपाल आउँदा प्रवेषाज्ञा शुल्क तिर्नुपर्दैन।


यसैबीच सिद्धार्थ एसोसिएसन अफ ट्राभल एजेन्ट (साटा) लुम्बिनी च्याप्टरले पर्यटन प्रबर्द्धनका लागि बुद्ध जयन्तीको अवसरमा लुम्बिनीदेखि मुक्तिनाथसम्म शान्ति र्‍याली आयोजना गर्ने भएको छ।


साटाका अध्यक्ष सञ्जय बजिमयले शान्ति र संविधान निर्माणमा जोड दिनुका साथै लुम्बिनी भ्रमण वर्ष २०१२ लाई समेत सफल पार्ने उद्देश्यले मोटरसाईकल शान्ति र्‍याली आयोजना गर्न लागिएको जानकारी दिए।


बुद्ध जयन्तीका दिन बिहान १० बजे लुम्बिनीबाट सुरु हुने शान्ति र्‍याली पोखरा, म्याग्दी, जोमसोम हुँदै मुक्तिनाथधाम पुगेर चौथो दिन लुम्बिनीमै फर्किनेछ।


साटाले र्‍यालीमा बढीमा ५० वटा मोटरसाईकल सहभागी गराउने निर्णय गरेको छ। बुधबारसम्म २० वटाले नाम दर्ता गराइसकेको अध्यक्ष बजिमयले जानकारी दिए। रासस