नेपाललाई जिल्याउँदै मलेसियाले पेप्सी विश्व क्रिकेट लिग डिभिजन ४ को आयोजना गर्ने

काठमाडौं – नेपाललाई जिल्याउँदै मलेसियाले पेप्सी विश्व क्रिकेट लिग डिभिजन ४ को आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌ (आइसिसी) को सोमबार र मंगलबार थाइल्यान्डमा बसेको बैठकले मलेसियालाई आयोजनाको अधिकार सुम्पेको हो।

डिभिजन ४ मा नेपाल र मलेसियासहित प्रतियोगितामा अमेरिका, डेनमार्क, सिंगापुर र तान्जेनियाले प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिता २०१५ को विश्वकप छनोटको आधार पनि हो। त्यस्तै बर्मुडालाई डिभिजन ३ को जिम्मेवारी दिएको छ। तर आर्थीक पक्ष टुंगो लागेपछि मात्र यसको पूर्ण निर्णय हुने आइसिसीले जनाएको छ।

नेपालले २०१० को फेब्रुअरीमा डिभिजन ५ को आयोजना गरेको थियो, जुन नेपालले आयोजना गरेको आइसिसीको पहिलो प्रतियोगिता थियो। नेपाल र अमेरिकालाई डिभिजन ४ को आयोजना गर्न दिने सम्भावना बलियो मानिएको थियो। तर तोकिएको मापदण्ड पुरा नगरेको भनी आइसिसीले अमेरिकामा डिभिजन ४ हुन नसक्ने यसअघि नै बताइसकेको थियो।

आयोजनाको होडमा नेपाल त्यसपछि एक्लो दाबेदार भए पनि आइसिसीले डिभिजन ५ बाट बढुवा भएर आएको मलेसियालाई आयोजनाको अधिकार दिएको छ। प्रतियोगिता कहिले हुने भनेर आइसिसीले निर्णय गरिसकेको भने छैन। – नागरिक