
राजनीतिक दलहरुबीच राज्यको शासकिय स्वरुप र ११ प्रदेश बनाउने सहमती भएपछि त्यसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको छ । गत साता १७ अंक बढिदे धटेको नेप्सेमा यस साता करिब २६ अंकको बृद्धि भएको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २५ दशमलब सात पाँच अंकले वृद्धि भई अन्तिम दिन ४ सय १६ दशमलब तीन सात अंकमा पुग्यो । यस साता कारोबार भएका अधिकांश समूहमा बृद्धि आयो ।
यस साता जलविद्युत समूहको उपसूचक सबैभन्दा उच्च ६४ अंक बराबरले बढ्यो । यस्तै टेलिकम सूचिकृत अन्य समूहको उपसूचक करिब ४० अंकले र वाणिज्य बैंक समूहको उपसूचकामा पनि ३० अंकको बृद्धि आयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १०४ कम्पनीको ५ हजार ४ सय ७९ कारोबारबाट ३६ करोड ९१ लाख रुपैयाँ बराबरका ९ लाख ३४ हजार कित्ता शेयरहरु खरीद बिक्री भए । गत साता ११४ कम्पनीको ६ हजार २ सय ५६ कारोबारबाट ६४ करोड ४७ लाख रुपैयाँ बराबरका २५ लाख २० हजार कित्ता शेयरहरु खरीद बिक्री भएका थिए ।
कारोबार रकममा भने गत साताको तुलनामा ४२ दशमलब ७४ प्रतिशतले ह्रास आयो । यस साता कारोबार रकम, शेयर कित्ता र कारोवार संख्या तीन वटै स्थानको आधारमा बैंक अफ काठमान्डौं अग्रस्थानमा रह्यो । कारोबार रकमको आधारमा बैंक अफ काठमान्डौंलाई एभरेष्ट बैंक, चिलिमे हाइड्रो पावर कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नबिल बैंकले क्रमशः पच्छ्याउन पुगे ।
यस साता बागमति डेभलपमेन्ट बैंकको पाँच लाख कित्ता साधारण, लुम्बिनी बैंकको १३ लाख कित्ता वोनस, नेपाल फाइनान्सको २ लाख कित्ता वोनस र नेपाल आवास फाइनान्सको ८४ हजार कित्ता वोनस शेयर सूचिकृत भएका छन् ।
RSS



