
बार्सिलोना प्रशिक्षक पेपे ग्वार्डियोलाले आफ्नो अन्तिम खेलमा बार्सालाई कोपा देल रेको उपाधि जिताएका छन् । केही समयअघि यो सिजनको समाप्तीपछि बार्सा त्याग्ने बताएका ग्वार्डियोलाले यो समेत पछिल्लो ४ बर्षमा १४ उपाधि जीताएका छन् ।
ग्वार्डियोलाको स्थानमा अब उनका सहायक टिटो भिलानोभाले बार्साको प्रशिक्षक पद सम्हाल्ने छन् । गए राती सम्पन्न फाइनलमा बार्साले एथलेटिक बिल्बाओलाई ३-० ले पराजित गर्दै उपाधि जीतेको हो ।
बार्सालाई जीताउन पेड्रो रडरिग्वेजले २ र लियोनल मेसीले १ गोल गरे । योसँगै बार्सा स्टार मेसीले सिजनको समाप्तीमा विभिन्न प्रतियोगितामा गरी कुल ७३ गोल गर्दै नयाँ कीर्तिमान पनि बनाएका छन् ।
मेसीले जर्मन क्लव बायर्न म्युनिखका गर्ड मुलरले एकै सिजनमा विभिन्न प्रतियोगितामा गरी ६७ गोल बनाएको कीर्तिमान तोडेका हुन् । कोपा देल रेको उपाधि बार्साले अहिलेसम्म सर्वाधिक २६ पटक जीतेको छ ।