
मुम्बई – – उसो त उनको घरमै सुन्दर पत्नी नभएकी होइनन् । ट्वींकल खन्नाले उनलाई मनमुटु सुम्पने नगरेको पनि होइन । तर पनि अक्षय कुमार ‘लेडी किलर’ का रूपमा चिनिन्छन् । उनी आफ्ना को-स्टारलाई छोटो समयमै पट्याउन माहिर मानिन्छन् । पि्रयंका चोपडा र लारा दत्त जस्ता दुई सुन्दरी रहेको ‘अन्दाज’ को सुटिङमा त ट्वींकलले धर्ना नै दिएकी थिइन्, पतिको भर नलागेर ।
युवतीको मामिलामा यिनै भर नभएका अक्षयको चक्कर यति बेला बलिउडमा हंगामा मच्चाइरहेकी ‘दबंग’ सोनाक्षी सिन्हासँग चलिरहेको अडकल काटिएको छ । हुन पनि दुईले प्रदर्शनका क्रममा रहेको ‘राउडी राठौर’ बाहेक ‘जोकर’ र ‘वन्स अपन अ टाइम इन मुम्बई २’ मा पनि दोहोरिएर काम गरेका छन् ।
सोनाक्षी पनि एकपछि अर्को फिल्म हात पार्न अक्षयले देखाएको सदाशयबाट मक्ख छिन् । अक्षयको त के कुरा ?
‘जोकर’ मा गरेको कामका बारेमा सोनाक्षीले दिएको प्रतिक्रियाले त दुईको आत्मीयतामा शंका गर्ने झन् ठाउँ बनाइदिएको छ । ‘हुन त हाम्रो फिल्म ‘राउडी राठौर’ आउँदै छ, तर पनि ‘जोकर’ मा खास मोजमस्ती र चञ्चलेपनमा हामीलाई दर्शकले हेर्न पाउनेछन्,’ सोनाक्षीले भनेकी छन् । उनका अनुसार, यस्तो सम्भव हुनुमा दुई बीचको सहज सम्बन्ध नै कारक हो ।

त्यसो त सलमान खानको ‘दबंग’ बाट करिअर सुरु गरेकी सोनाक्षी यतिबेला उनीसँगै फेरि ‘दबंग २’ मा, अजय देवगणसँग ‘सन अफ सरदार’ मा र रणवीर सिंहसँग ‘लुटेरा’ मा पनि व्यस्त छिन् । काम सबैसँग गरे पनि नाम भने अक्षयसँगै जोडिएको हो ।
‘अक्षयसँग काम गर्नुको सबैभन्दा राम्रो पक्ष भनेको उनी सेटमा सबैलाई सहज पारिदिन्छन् ।
जब कोही उनको नजिक हुन्छ, नहाँसीकन बस्नै सक्दैन ।’ सोनाक्षीले प्रशंसामा भनेकी छन् । अब ‘जोकर’ मा उनले नहँसाउने त कुरै भएन ।
एक्सन फिल्म मानिएको ‘राउडी राठौर’ मा रोमान्सको दृश्यले पनि गतिलो ठाउँ पाएको यी बिहारी बालाको दाबी छ । – एजेन्सी