शुभकामना टीम चेस जारी

भक्तपुर जेठ २२ गते । शुभकामना बचत तथा ऋण सहकारी संस्था लि। नासमनाको आयोजना र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राबिधिक सहयोगमा संचालित प्रथम अन्तर सहकारी टीम चेस टुर्नामेन्टको आज चौथौं र पाँचौं चरणका खेलहरु सम्पन्न भए । जसमा आयोजक शुभकामना साकोस चार जीत र एक बराबरी खेलेर ९ अंकका साथ एक्लै अग्रस्थानमा रहेका छन् । आज सम्पन्न चौथौं खेलमा भक्तपुर साकोसलाई २-१ ले पराजित गरेको आयोजक टीम पाँचौ खेलमा आस्था साकोससित बराबरीमा रोकिए । आयोजक टीमको तर्फबाट खेल्ने खेलाडीहरुमा मदनकृष्ण कायस्थ विकास कुलुजु उमेश सैंजू र रामप्रसाद कासुला रहेका छन् ।


शुभकामना साकोसको १३औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित टुर्नामेन्टमा समान ८ अंकका साथ श्रमजिवी साकोस र भक्तपुर साकोस संयुक्तरुपमा दोश्रो स्थानमा रहेका छन् । श्रमजीवी टीममा गणेशमान दुवाल राजेश कक्षपति गणेश अवाल र कृष्णबहादुर दुवाल खेलेका छन् भने भक्तपुर साकोसबाट निरन्जन प्रजापति दामोदर गाँइजु राज प्रजापति र श्यामकृष्ण प्रजापति खेलेका छन् । त्यस्तै आस्था साकोस ७ अंकका साथ तेश्रो स्थानमा रहेका छ । आस्थाबाट राजेन्द्र सिजख्व सुमन सुवाल प्रज्वलराज राजोपाध्याय र रमेश नकर्मी सहभागी छन् ।

 

भक्तपुर जिल्लाका १६ वटा सहकारी टीमहरु सम्मिलित टुर्नामेन्ट स्वीस लिग ६ चरणका खेलहरु श्री पद्मम उमावि दरवार स्क्वायरमा संचालन गरिएको छ । भोलि छैटौं तथा अन्तिम चरणको खेल हुनेछ । जसमा शुभकामनाविरुद्ध श्रमजीवी र भक्तपुरविरुद्ध आस्था साकोसबीच उपाधिको लागि भिडन्त हुनेछन् ।

 

यस टुर्नामेन्टमा प्रथम हुने टीमलाई पन्ध्र हजार दोश्रोलाई १० हजार र तेश्रोलाई ५ हजार नगद पुरस्कार र आकर्षक ट्रफि प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ठ तीनजना खेलाडीहरुलाई पनि जनही एक हजार नगद दिइने आयोजक संस्थाका अध्यक्ष वालमुकुन्द सुवालले बताउनु भयो ।