काठमाडौँ – ग्लोबल पिस एसोसियसन-नेपालले नेपालमा पहिलोपटक आइतबार गड्यौला सम्मेलनको गरेको छ ।
एसोसिएसनले व्यावसायिकरूपमा गड्यौला खेतीलाई प्रवर्द्धन गरी कृषि क्षेत्रको विकासमा सहयोग पुर्याउने उद्देश्यले सम्मेलन गरेको हो ।
विश्वमा चार हजार प्रकारका र नेपालमा चार प्रकारका गड्यौला पाइए तापनि सम्मेलनमा नेपालमा पाइने रेडबम नामक एक प्रकारको मात्र गड्यौला राखिएको थियो ।
काठमाडौँमा फोहरमैलाको व्यवस्थापन गर्न नसकेको अवस्थामा सबैले घरघरमा गड्यौला पालेर घरबाट निस्केको फोहर व्यवस्थापन गर्ने र गड्यौलाको मललाई खेतीमा उपयोग गर्ने बानी बसाल्नुपर्ने एसोसियसनका अध्यक्ष डा किशोर राजभण्डारीले जानकारी दिए ।
गड्यौला विशेषज्ञ डा आनन्दशोभा ताम्राकारले सुरुमा इटालीबाट ल्याएर नेपालमा आफूले विगत बीस वर्षेखि गड्यौला खेती गर्न सुरु गरेको बताउँदै भनिन्- ‘आजभोलि एउटा गड्यौलालाई एक रुपियाँ र एक केजी गड्यौलाको मल ३० रुपियाँमा बिक्री हुने गरेको छ ।’ गड्यौलाको एउटा फुलबाट ६-७ वटा गड्यौला उत्पादन हुने उनको भनाइ थियो ।
लामो समयदेखि गड्यौला खेतीमा क्रियाशील कृषक अशोककुमार भट्टराईले नेपालमा अर्गानिकखेती थाल्न भारतबाट १०० किलो गड्यौला ल्याएर गड्यौलाखेती सुरु गरेको बताए ।



