युक्रेनले युरोपियन च्याम्पियनसिपमा स्वीडेनलाई २-१ ले पराजित

किभ (एएफपी) – पूर्वयुरोपेली बर्ष खेलाडी आन्द्रेय सेभचेन्कोले दोस्रो हाफमा दुई गोल गरेपछि सह-आयोजक युक्रेनले युरोपियन च्याम्पियनसिपमा स्वीडेनलाई २-१ ले सोमबार पराजित गरेको छ ।


एक गोलले पछि परेको स्थिति उल्टाएर युक्रेनले समूह ‘डी’ खेलमा तीन अंक जोडेको हो । यसअघि समूहको पहिलो खेलमा दुईपल्टको विजेता फ्रान्स र इङल्यान्डले १-१ को नतिजा निकालेका थिए । दुवैको १-१ अंक छ । त्यसैले १-१ खेलेको अवस्थामा युक्रेन समूहको शीर्षस्थानमा छ ।


युगोस्लाभिया विभाजनपछि स्वतन्त्र भएको युक्रेन पहिलोपल्ट युरोपियन च्याम्पियनसिपको फायनल चरणमा सहभागि भएको हो । यस्तोमा उसले रोमाञ्चक जित निकाल्दै डेब्यूलाई यादगार बनायो ।


युक्रेनको जितमा नायक रहे, ३५ वर्षीय भेट्रान स्ट्राइकर सेभचेन्को । यी कप्तानले ५५ औं मिनेटमा गोल गर्दै घरेलु टिमलाई १-१ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि ६१ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले गोल गर्दै ५२ औं मिनेटमा स्वीडेनलाई अग्रता दिलाएका थिए ।


‘ऐतेहासिक खेल जित्त पाएकोमा गर्व लागेको छ’, सन् १९९५ मा पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल खेलेका सेभचेन्कोले भने, ‘२० बर्षकोजस्तै अनुभव भइरहेको छ । म ३५ बर्षको हुँ भन्ने पटक्कै लागेको छैन ।’ लामो अवभिमा थुप्रै समस्या बेहोर्दै युरोपियन च्याम्पियनसिप खेल्ने अवस्थासम्म आइपुगेकोमा समर्थकलाई धन्यवाद दिन पनि उनले बिर्सेनन् ।