युरो २०१२ अन्तर्गत पोल्यान्ड र रुसबिच खेल सुरु हुनुअघि रुसी फुटबल फ्यान र पोल्यान्ड समर्थकबीच झडप

Soccer fans run during clashes before Euro 2012 soccer match between Poland and Russia in Warsaw

 

वार्सा, पोल्यान्ड  (एपी)- युरो २०१२ अन्तर्गत पोल्यान्ड र रुसबिच खेल सुरु हुनुअघि रुसी फुटबल फ्यान र पोल्यान्ड समर्थकबीच झडप भएको छ। झडपमा १० जना घाइते भएका छन्। घाइते हुनेमा सात पोल्यान्डका, दुई रुसी र एक जर्मन छन्। युरो २०१२ सुरु भइसकेपछिकै सबैभन्दा हिंसात्मक घटनाका रुपमा यसलाई लिइएको छ। पोल्यान्डका फुटबल हुल्याहाहरुले रुसीहरुमाथि आक्रमण गरेपछि उनीहरुले पनि हिंसात्मक रुपमा प्रतिकार गरेका थिए। दुवै पक्षले एक अर्कालाई कुटेका थिए।

एपीका पत्रकारहरुले कयौँ मानिस घाइते र रगतपच्छे भएको देखे। स्टेडियम बाहिरै पनि पोल्यान्ड र रुसका फ्यानहरु झगडा गरिरहेका र ढुंगा हानिरहेका देखिएका थिए।


दुई देशको इतिहासमा सम्बन्ध तनावपूर्ण रहेको छ। शीतयुद्धताका पोल्यान्डमा दशकौँसम्म मस्कोले नियन्त्रण गरेको थियो। ऐतिहासिक पीडालाई ध्यानमा राखेर पनि पोल्यान्डका अधिकारीहरुले रुसीहरुलाई झण्डासहित मार्च गर्न दिन नहुने पोल्यान्डबासीहरु बताउँछन्।


पाँच हजार रुसी फ्यानले उनीहरुको देशको झण्डा फहराउँदै स्टेडियमतर्फ मार्च गरेपछि पोल्यान्डबासीहरु क्रुद्ध भएका थिए।


रुसी फ्यान र प्रहरी बीच राष्ट्रिय रंगशाला बाहिरको पुलमा झडप भएको थियो। भीडलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।