युरोकप फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा चेक गणतन्त्रले ग्रिसलाई २-१

युरोकप फुटबल प्रतियोगिता अन्तर्गत गएरातीको खेलमा चेक गणतन्त्रले ग्रिसलाई २-१ ले हराएको छ । पोल्याण्डको रोक्ल शहरमा भएको खेलको सुरुमै चेक गणतन्त्रले २-० को अग्रता लिएको थियो । खेलमा चेक टोलीका यिराचेक र पिलारले एक एक गोल गरेका थिए । दोस्रो हाफमा ग्रिसका येकाशले एक गोल फर्काएपछि टोलीको हार अन्तर कम भएको हो ।


युरोकप फुटबल अन्तर्गत समुह ए को अर्को खेलमा सह आयोजक पोल्याण्ड र रुसले अंक बाडेका छन् । खेलमा रुसका अलान जागोएभले पहिलो गोल गरे । तर पोल्याण्डका याकुब ब्लास्जीकोस्कीले एक गोल फर्काएपछि घरेलु टोलीले लगातार दोस्रो बराबरीमा चित्त बझाएको हो । यसअघि पहिलो चरणको खेलमा पोल्याण्डले ग्रिससँग १-१ गोलको बराबरी खेलेको थियो ।


युरोकप फुटबल अन्तर्गत आज समुह बी का दोस्रो चरणका खेलहरु हुनेछन् । आज राती हुने पहिलो खेलमा डेनमार्क र पोर्चुगल भिड्नेछन् भने दोस्रो खेलमा दावेदारहरु जर्मनी र नेदरल्याण्ड्स आमने सामने हुनेछन् । यसअघि पहिलो चरणमा डेनमार्कले नेदरल्याण्ड्सलाई हराएको थियोभने जर्मनीले पोर्चुगललाई निराश पारेको थियो ।