नायिका जेसिका खड्काको पशुपति आर्यघाटमा दाहसंस्कार


 

न्यूरोडस्थित डेरामा हिजो मृत फेला परेकी नायिका जेसिका खड्काको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सुनसरी, इटहरीबाट उनका परिवारजन राजधानी आएपछि आज पशुपति आर्यघाटमा जेसिकाको अन्त्येष्टि गरिएको हो।

 

काका मोहन खड्काले जेसिकाको पार्थिव शरीरमा दागबत्ती दिनुभएको थियो।

 


 

पशुपति आर्यघाट लैजानुअघि नायिका खड्काको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि २ घण्टा चलचित्र विकास बोर्ड चाबहिलमा राखिएको थियो। श्रद्धाञ्जलीमा न्यून चलचित्रकर्मीहरुको उपस्थिति रहेको थियो। जेसिकाले अचानक, आवाज, जंगल क्विन, जंगल लभ, लक्की सेभेन, गहिराइ लगायत आधा दर्जन चलचित्रमा अभिनय गरेकी थिइन्।

 

खड्काको शवको हिजो त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिएको थियो। वास्तविक नाम ज्योति खड्का भएपनि चलचित्रमा उनी जेसिका खड्काको नामले परिचित थिइन्। गायक प्रकाश ओझासंग जोडिएको यौन भिडियो प्रकरणपछि उनी नाम परिवर्तन गरी चलचित्र क्षेत्रमा क्रियाशील थिइन्।

 

उनले अभिनय गरेको चलचित्र गहिराइको छायांकन केही दिनअघि मात्र सकिएको थियो भने चलचित्र जंगल लभ प्रदर्शन हुने तयारीमा रहेको छ।