हेटौंडा ३१ जेठ – नेपाल बुद्धिचाल संघ मकवानपुरको अध्यक्षमा यहाँका व्यवसायी तथा समाजसेवी ज्ञानकृष्ण प्रजापति सर्वसम्मत चयन भएका छन् । संघको हेटौंडामा भएको बैठकले संघको उपाध्यक्ष रहेका प्रजापतिलाई अध्यक्ष चयन गरेको हो ।
संघ अध्यक्ष एकालाल श्रेष्ठ केन्द्रीय महासचिव पदमा निर्बिरोध निर्वाचित भएपछि जिल्ला संघको अध्यक्ष पद छाडेका थिए । संघमा सर्वसम्मत चयन भएपछि अध्यक्ष प्रजापतिले संघको कार्यालय व्यवस्थापन गर्ने जिल्लास्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगिता हेटौंडा आयोजना गर्ने बताए । उनले जिल्लामा रहेका खेलाडीहरुको पहिचान र खेल अभिबृद्धिका लागि विद्यालय तथा क्याम्पसस्तरमा प्रतियोगिताहरु आयोजना गर्ने बताए ।
पुनर्गठित संघ उपाध्यक्षद्वयमा अभय श्रेष्ठ र पर्शुराम लामा सचिवमा धरमबहादुर लामा कोषाध्यक्ष कृष्ण थापा तथा सदस्यहरुमा अनिल राजबाहक धीरब राजथला महेन्द्र चित्रकार सुरेन्द्रमान प्रधान श्रीकृष्ण कर्माचार्य शेखर श्रेष्ठ बलराम साजेल पेमा शाही चयन भएका छन् ।
संघको बैठकले एकालाल श्रेष्ठ प्रताप विष्ट भुवनलाल श्रेष्ठ ज्योतिरत्न बज्राचार्य नरोत्तम दाहाल बालगोपाल कँडेललाई सल्लाहकार चयन गरेको छ । संघले मिडिया कोअर्डिनेटरको रुपमा पत्रकार सविन न्यौपानेलाई चयन गरेको छ ।
चेसमा मकवानपुर च्याम्पियन छानिने
हेटौंडा ३१ जेठ: मकवानपुर जिल्ला बुद्धिचाल संघले प्रतियोगिता आयोजना गरेर चेसमा मकवानपुर च्याम्पियन छनौट गर्ने निर्णय गरेको छ । संघ अध्यक्ष ज्ञानकृष्ण प्रजापतिको अध्यक्षतामा सोमबार बसेको बैठकले असार १९ गतेदेखि पाँच दिन मकवानपुर उद्योग वाणिज्य संघको सभाकक्षमा जिल्लास्तरीय खुला प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
बुद्धिचालका नयाँ र पुराना खेलाडीलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा करिब ६० प्रतियोगी सहभागी हुने अनुमान संघ सचिव धरमबहादुर लामाले गरे । प्रतियोगिताका प्रमुख निर्णायकमा अन्तर्राष्ट्रि अर्बिटर ज्ञानेन्द्र खाइजु रहने भएका छन् । प्रतियोगितामा सहभागी हुन चाहने विद्यालय र क्याम्पसका विद्यार्थीलाई निर्धारित दर्ता शुल्कमा ५० प्रतिशत छुट दिएर एक सय रुपियाँ कायम गर्ने निर्णय बैठकले गरेको छ । प्रतियोगिता स्वीस लिगअन्तर्गत ८ राउण्ड साचालन गरिने भएको छ ।