आज बिहान करिब २ बजे विधिपूवर्क पूजाआजा गरिसकेपछि मृतक देवगणलाई बोकेर मरुटोलस्थित काष्ठमण्डप अगाडि विशेष प्रकारले बाजा बजाएर पानी खुवाउने गरिन्छ। त्यसपछि देवगणलाई पचली भैरवको देवता घर ज्यावहालमा पुर्याइने गरिन्छ।
ज्याबहालमा ल्याइपुर्याएका देवगणलाई पुनः सिबाजा बजाएर टेकुस्थित पचली भैरवस्थानमा लगिएको र त्यहाँ परम्परागत विधिअनुसार पूजाआजा गरिसकेपछि देवगणले लगाउने मुकुण्डोलाई टेकु दोभानमा लगेर जलाई जात्रा सम्पन्न गरिएको हो।
काठमाडौँको प्रारम्भिक कालखण्डदेखि सुरु भएको धार्मिक, सहिष्णुता, सांस्कृतिक विविधता, शासकीय शक्ति सञ्चयको प्रतीक तथा परम्परागतरुपमा नचाइने त्यस जात्रालाई नेवार भाषामा ‘गथु प्याखँ’ पनि भनिन्छ।
यो नाच विशेष गरेर गथु अर्थात् माली वा मालाकार जातिले चलाउने नाच भएकाले पनि यो नाचलाई गथु प्याखँ भन्ने गरिएको हो।
सिजाः दिने काम भने कारन्जित थरकाले मात्र गर्नुपर्ने स्थानीय बासिन्दा हृदयप्रसाद मिश्रले बताए।
यसपालि सिजाः दिने पालो आफ्नो रहेको बताउँदै सूर्यमान कारन्जितले धर्म संस्कृति बचाउनमात्र आफूहरुले निरन्तरता दिने गरेको उल्लेख गर्दै यसलाई निरन्तरता दिन सरकारले विशेष पहल गर्नुपर्ने बताए।
पचली भैरव गणमा महालक्ष्मी, गणेश ‘गणेद्यः’, ब्रम्हायणी ‘म्हासुख्वा द्यः’, रुद्रायणी ‘तुयूख्वाः द्यः’, कौमारी ‘कुमारी’, नारायणी ‘वाउँख्वाः द्यः’, बाराही, इन्द्रायणी ‘मनमय्जु’, काली ‘अजिमा’, भैरव ‘पचली भैरव’, सिङ्गिणी ‘सिंवाद्यः’, व्याधिणी ‘धुंवाद्यः’ र स्वेत भैरव ‘तुयुम्हः महाद्यः ख्वाः’ रहेको छ।
विसं १५५६ तिर काठमाडौँका मल्लकालीन पाँचौँ राजा अमर मल्लले आफ्नो राज्यकालमा यो नाच चलाएको अनुमान गरिएको छ।
बाह्र वर्षको एकपटक पचली भैरवको गणलाई विधिपूर्वक निकाली काठमाडौँका विभिन्न ठाउँमा नचाइने चलन रहेको देवगणका बेखारत्न मालीले बताए। रासस



