काठमाडौ ८ असार – पोर्चुगल यूरो कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । बिहीबार राती भएको खेलमा चेक गणतन्त्रलाई १ (० ले हराउँदै पोर्चुगलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ७९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।खेल अवधिभर दबाबमा राखेपनि गोल गर्न नसकेको पोर्चुगलका लागि रोनाल्डोले हेड मार्फत सुन्दर गोल गरे ।
सेमिफाईनलमा पोर्चुगलले स्पेन र फ्रान्सबीच हुने खेलको विजेताको सामना गर्नेछ । उत्कृष्ट प्रदर्शन कायमै राखेका रोनाल्डोले समूह चरणमा नेदरल्याण्ड विरुद्धको महत्वपूर्ण खेलमा पनि दुई गोल गरेका थिए ।
जारी प्रतियोगितामा रोनाल्डोको गोल संख्या तीन पुगेको छ । जर्मनीका मारियो गोमेजले पनि तीन गोल गरेका छन् । प्रतियोगिताको दोश्रो क्वार्टरफाईनल शुक्रबार राती जर्मनी र ग्रीसबीच हुने छ ।