युरो कप २०१२ क्वाटरफाइनलमा स्पेनले फ्रान्स २-० ले हराउदै सेमिफाइनलमा प्रवेश

Spain soccer fans pose for a picture as they party in the Donetsk

 

– मनोज के.सी

 


मैड्रिड, स्पेन । शनिवार राती सम्पन्न युरो कप २०१२ क्वाटरफाइनलमा स्पेनले फ्रान्स २-० ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ।

 

सयौँ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका खावी अलोन्सोले गरेको दुई गोलको मद्दतले स्पेनले पहिलो पटक फ्रान्सलाई पराजित गर्दै घरतर्फको बाटो देखाएको छ। तेस्रो मुख्य उपाधि जित्न लम्किरहेको डिफेन्डिङ च्याम्पियन स्पेनको सेमिफाइनल भिडन्त अब छिमेकी राष्ट्र पोर्चुगलसित बुधबार हुनेछ।

 

मध्यान्तर अघि जाली चुम्ने गरी  भूँइमा बजार्दै गरेको हेडर र खेल सकिन लाग्दाको एक्स्ट्रा टाइममा पाएको पेनाल्टीमार्फत अलोन्सोले आफ्नो सयौँ अन्तर्राष्ट्रिय प्रतियोगितालाई स्मरणीय बनाए।


अलोन्सको पहिलो गोल स्पेनको उत्कृष्ट वन टच फुटबलको उदाहरण थियो। इनियस्टाले जोर्दि अल्बालाई बायाँबाट दिएको पर्फेक्ट पासलाई फ्रान्सका डिफेन्डरहरुले रोक्नै नसकिने गरी कुदेर आएका अलोन्सोले हेड गरी बललाई जाली चुमाएका थिए।

 

सात वटा प्रतियोगितात्मक खेलमा स्पेनले फ्रान्सलाई जितेको यो पहिलो अवसर हो। तर फ्रान्स खेलमा प्रभावशाली थिएन। उसले एउटै मात्र बल टार्गेटमा हान्न सकेको थियो।

 
यो पराजयसँगै फ्रान्सेली प्रशिक्षक लरेन्ट ब्लान्कको भविष्य पनि अन्यौलमा परेको छ। यही महिनाको अन्त्यमा उनको सम्झौताको म्याद सकिँदैछ। फ्रान्सेली फुटबल फेडरेसनका अध्यक्षले युरो २०१२ को नतिजा हेरेपछि मात्र सम्झौता नवीकरण गर्ने/नगर्ने बारे निर्णय गर्ने बताएका थिए।

 

इङ्ग्ल्यान्डका केही मिडियाले भने ब्लान्कलाई प्रिमियर लिग टिम टोटेनह्यामको रिक्त पदमा लाने तयारी भएको बारे समाचार छापेका छन्।


खेलपछि आयोजित पत्रकार सम्मेलनमा फ्रान्सेली मिडफिल्डर समिर नासरीको एक पत्रकारसँग भनाभन भएको छ। पत्रकारले हारपछिको प्रतिक्रिया सोध्ने क्रममा नासरीको भनाभन परेको हो। फ्रान्सेली मिडियासँग प्रतियोगिताभर नै उनको तनावपूर्ण सम्बन्ध रह्यो। इङ्गल्यान्डसँग १-१ को बराबरी खेलमा गोल गरेपछि नासरीले खुसी मनाउने क्रममा फ्रेन्चमा चुप लाग भन्दै औँलालाई ओठमा राखेर पत्रकारलाई जिस्क्याएका थिए।

 

युरो २०१२ अन्तर्गत आजको अन्तिम क्वार्टर फाइनल खेल इङ्गल्यान्ड र इटालीबीच हुँदैछ।