एमालेद्धारा कांग्रेसलाई एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्न सल्लाह

काठमाडौ – नेकपा एमालेका सचिव शंकर पोखरेलले कांग्रेसलाई एक साताभित्र राष्ट्रिय सहमतिको सरकारका लागि प्रधानमन्त्रीको उमेदवार प्रस्तुत गर्न सल्लाह दिएका छन् । उनले कांग्रेसले त्यसो नगरे आफूहरूले वैकल्पिक प्रधानमन्त्रीको नाम अगाडि सार्ने चेतावनी पनि दिए ।


रिपोर्टर्स क्लबमा सोमबार सचिव पोखरेलले कांग्रेसको नेतृत्वमा कुनै विवाद नभए पनि उसले उम्मेदवारी तय नगर्ने हो भने अरू दलको नेतृत्वमा सहमति गर्न आग्रह गरे । उनले भने- यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन ।


पोख्रेलले  भने- कांग्रेसले आफ्नो उमेदवारी पनि दिन नसक्ने अनि अरूलाई समर्थन गर्ने विषयमा पनि छलफल नगर्ने, यस्तो क्रियाकलापले मुलुकमा केवल सर्वसत्तावाद मात्र निम्त्याउँछ ।


राष्ट्रिय सहमतिको सरकार नबनी पूर्ण बजेट आउनै नसक्ने भन्दै यथास्थितिमा पेश्की बजेटभन्दा अर्को कुनै पनि खाले बजेट आउन नसक्ने उनले स्पष्ट पारे ।


संविधान र संवैधानिक व्यवस्था खतरामा परेको अवस्थालाई राष्ट्रपतिले बुझेको विश्वास व्यक्त गर्दै सचिव पोखरेलले यस्तो अवस्थामा संविधानको संरक्षकको हैसियतले निकासका लागि ठोस कदम चाल्ने दाबी गरे । उनले भने- यति बेला राज्यको सम्पूर्ण कार्यकारी अधिकार समाप्त भएको छ । यस्तो अवस्थामा निकासका लागि कदम नचाल्नु मुलुकका लागि दुर्भाग्यपूर्ण हुन्छ ।


माओवादीका पोलिटब्युरो व्युरो सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री डा. बाबुराम भट्टराई कामचलाउ भइसकेकाले अब सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।


उनले राजनीतिक सहमतिबिना प्रधानमन्त्रीलाई राष्ट्रपतिले समेत पदमुक्त गर्न नसक्ने ठोकुवा गर्दै दलहरुबीच सहमति बने माओवादीलाई कांग्रेसको नेतृत्व स्वीकार्य भएको बताए ।


बस्नेतले भने- अहिले काम चलाउ प्रधानमन्त्रीको राजीनामाको औचित्य छैन, सहमतिमा अर्को प्रधानमन्त्रीको टुंगो लाग्नुपर्छ, सरकार परिवर्तन हुने बित्तिकै मुलुकमा कायपलट हुन्छ भन्ने सोच भ्रमपूर्ण छ ।


कांग्रेसका केन्द्रीय सदस्य नारायण खडकाले कांग्रेसले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक गरेर सभापति सुशील कोइरालालाई सहमतिको प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी भइरहेको खुलासा गरे ।


उनले भने- सभापति जी ले चाहना नगरे मात्रै शेरबहादुर र रामचन्द्रजीको पालो आउने हो । अहिलेको एकमतको उमेदवार सभापति नै हो ।

images

संविधानको संरक्षकको नाताले राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर राजीनामा मागी मुलुकलाई असहज परिस्थितिबाट बाहिर निकाल्नुपर्ने भन्दै खड्काले प्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्दै राजीनामा दिएर सहमतिको बाटो खोल्नु सबैभन्दा उपयुक्त विकल्प भएको तर्क गरे ।


संवैधानिक आधारविना घोषणा गरिएको चुनाव हुने सम्भावना नरहेको ठोकुवा गर्दै उनले सहमतिको सरकारले मात्र चुनाव गर्नसक्ने बताए ।

images

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानसभा व्युत्याएर मुलुकले निकास नपाउने ठोकुवा गर्दै प्रधानमन्त्रीलाई हटाएर सहमतिको सरकार गठन गरेपछि मात्रै मुलुकले निकास पाउने दाबी गरे ।


मुलुक अहिलेसम्म सत्ता र भत्ताका कारण बर्बाद भएको भन्दै केसीले सीमित कामका लागि सहमतिको सरकार निर्माणमा जोड दिए । म नै सर्वेसर्वा हुँ भन्ने व्यवहारको कारण संविधान निर्माण हुन नसकेको र निर्वाचन पनि हुन नसक्ने भन्दै उनले सहमतिको विकल्प मुलुकका लागि वर्वादीबाहेक केही नहुने धारणा राखे । उनले प्रधानमन्त्र स्वदेश फर्कनासाथ सहमतिको सरकारका लागि सर्वदलीय बैठक गरेर अगाडि बड्नुको विकल्प नरहेको स्पष्ट पारे ।

कान्तिपुर