काठमाडौं, १३ असार फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्ने छ ।पछिल्लो भेटमा पोर्चगललाई ४(० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहास युरो २०१२ सेमिफाइनलको प्रतिद्वन्द्वीसँग समृद्ध छ ।
३७ पटक आमनेसामने हुँदा स्पेनले ९ खेलमा मात्र हार बेहोरेको छ । दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप २०१० को अन्तिम १६ मा भेट हुँदा स्पेनले पोर्चुगलमाथि १(० को विजय पाएको थियो । पोर्चुगलले त्यसको पाँच महिना नबित्दै विश्वकप हारको सानदार बदला लिने क्रममा लिस्बनमा ४(० को जित दर्ता गरायो ।
विश्वकप तथा युरोपियन च्याम्पियनसिपको साबिक विजेताले पछिल्लो ४७ वर्षका भोगेको यो सबैभन्दा फराकिलो हार थियो । डोनेस्कको डोनबास एरिनामा हुने खेलमा पोर्चुगल त्यही टोलीका ९ खेलाडीलाई पहिलो रोजाइमा उतार्न तयारीमा छ भने स्पेनको टोलीमा त्यतिखेरका ८ खेलाडी पहिलो रोजाइमा पर्न अपेक्षा गरिएको छ । दुई वर्षघि क्रिस्टियानो रोनाल्डोले स्पेनिस रक्षापंक्तिलाई आतंकित पारेका थिए ।
अफसाइड पोजिसनमा रहेका नानीले हेड नगरेको भए रोनाल्डो करियरकै सबैभन्दा उत्कृष्ट गोल नजिक पुगिसकेका थिए । रोनाल्डोको सटले गोलको दिशा लिन लाग्दा नानीले हेड गरेपछि रेफ्रिले अफसाइड भन्दै त्यसलाई अमान्य करार दिएका थिए । पोर्चुगाली टोलीमा अहिले पनि रोनाल्डो बढी आशा गरिएका खेलाडी हुन् । स्पेनिस टोलीमा २७ वर्ष रोनाल्डोको रियाल मड्रिडका पाँच खेलाडी हुनुले खेललाई थप रोमाञ्चक बनाउने आशा गरिएको छ ।
रोनाल्डोका रियाल टिम सहयात्रीलाई उनको खेलशैली थाहा हुनुले पोर्चुगललाई अप्ठेरो पर्नसक्छ भने उनीहरुको खेल शैली बुझेका रोनाल्डो स्पेनका लागि पनि खतरनाक साबित हुन सक्छन् । नेदरल्यान्डस र चेक गणतन्त्रविरुद्ध खेल जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले अन्तरराष्ट्रियस्तरमा ठूला प्रतियोगितामा आफूलाई प्रमाणित गर्दैछन् । यस्तो अवस्थामा उनलाई रोक्नु स्पेनिस रक्षकहरुका लागि ठूलो चुनौती हुने अपेक्षा गरिएको छ ।