युरोकपको फाइनलमा स्पेन

काठमाडौ, १४ असार पेनाल्टी सुटआउटमा बुधबार राती पोर्चुगललाई ४-२ ले हराउँदै स्पेन यूरोकप फुटबलको फाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटमा कुनैपनि टिमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।खेल अवधीभर अधिकांश समय पोर्चुगललाई दबाबमा राखे पनि स्पेनले गोल गर्न सकेन ।

दुबै टिमका गोलकिपरले पहिलो पेनाल्टी रोकिदिएपछि दुबै टिमका समर्थक चुपचाप लागेका थिए । त्यसपछि पोर्चुगलको तेश्रो पेनाल्टी पोलमा लागेर बाहिरिएको थियो तर स्पेनको भने पोलमा लागेर गोलपोष्ट चुम्यो ।

अन्तमा स्पेन पेनाल्टी सुट आउटमा ४ दुईले विजयी भयो । स्पेनले बिहीबार हुने खेलको विजेतासंग उपाधिका लागि खेल्नेछ । यूरोकपको दोश्रो सेमिफाइनलमा बिहीबार राती साँढे १२ बजे जर्मनी र ईटलीबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।