पूर्वाञ्चल मिडिया सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

चन्द्र कार्की

 

थुम  – म्याङलुङमा शनिबार पूर्वाञ्चल मिडिया सम्मेलन सम्पन्न भएको छ । श्रमजीवी पत्रकार ऐन लागू भैसके पनि कार्यान्वयन पक्ष पूर्वाञ्चलमा अझै फितलो भएकोले तत्काल ऐन कार्यान्वयन गराउने विषयलाई जोड दिँदै सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।

सम्मेलनले मुलुकको वर्तमान गतिरोधको निकासका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण र विघटित संविधानसभामा भएको सहमतिको आधारमा संविधानका विवादित विषयको समाधान गरी नयाँ निर्वाचनको घोषणालाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । त्यसैगरी मोफसलका सञ्चार प्रतिष्ठानको स्थायित्वका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय निकायका विज्ञापन अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममा उपलब्ध गराउन सम्मेलनले जोडदार माग गरेको छ ।


नेपाल पत्रकार महासंघको क्षेत्रीय समितिको आयोजना र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सहयोगमा तेह्रथुम शाखाले गरेको सम्मेलनले लालीगुराँसको राजधानीको रूपमा रहेको तीनजुरे मिल्के जलजले क्षेत्रलाई समेत पर्यटकीय क्षेत्रको रुपमा विस्तार गर्ने आफ्नो घोषणापत्रमा प्रतिबद्धता जनाएको छ ।


सम्मेलनमा बोल्दै महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँलेले मुलुकमा दण्डहीनता अन्त्य नभएसम्म प्रेस स्वतन्त्रता नहुने दाबी गरे । सरकार पत्रकारको सुरक्षाको निमित्त सक्षम नभएको गाउँलेको आरोप थियो । कार्यक्रममा बोल्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गोविन्द आचार्यले सञ्चारगृहले समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको बताए ।