पाँचथर । गस्तिमा रहेको प्रहरीको टोलीले पाँचथरमा १० जनालाई पक्राउ गरेको छ । गार्इको मासु काटेर बेच्ने सात जना र खुकुरी प्रहार गर्ने तीन जनालार्इ नियन्त्रणमा लिर्इएको हो । गस्तिमा खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले गाई काटेर मासु बेचिरहेको अवस्थामा पाँचथरको अमरपुर ५ धुसेनीबाट सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पांचथर अमरपुरका भिम तामाङ, चन्द्रमान वम्जन, दावावीर तामाङ, सुर्जमान वम्जन, पर्वत तामाङ, समरवहादुर तामाङ र पद्मलाल तामाङ रहेका छन् ।
गाई काटेको सुचनाका आधारमा गएको टोलीले ३ केजी छाला, रौं सहितको मासु, टाउकोको हड्डी, दांत र मासु काट्न प्रयोग गरिएको बामफोक बरामद गरेको पाँचथरका प्रहरी प्रमूख बिनोद सिलवालले जानकारी दिनुभएको छ ।
त्यस्तै ज्यान मार्ने उद्योग गरेको अभियोगमा पाँचथरकै रानिटार गाविसका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रानिटार ९ डाडागाउका दिपक राईलाई खुकुरी प्रहार गरी ज्यान मार्न खोजेको भन्दै प्रहरीले स्थानीय रमेश राई, धन व. राई, देउ कुमार राईलाई पक्राउ गरेको हो । घाइते दिपकको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । – RSS



