– एजेन्सी
मुम्बई – एक वर्षदेखि हराएकी पाकिस्तानी मुलुकी बलिउड हिरोइन लैला खानको गोली हानी हत्या भएको खुलासा भएको छ।
समाचारअनुसार जम्मु कस्मिर पुलिसले उनको हत्या भएको स्विकारेको छ। साथै सन् २०११ को सुरुमा मुम्बईमा उनीसहित उनको परिवारका चार सदस्यको गोली हानी हत्या भएको थियो। लैलाको परिवार नजिकका परवेज इकवाल तक हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा छन्।
यसैक्रममा गत महिनामात्र एक पत्रिकाले लैला नक्कली राहदानीबाट दुबईमा रहँदै आएको खबर छापेको थियो। राजेश खन्ना हिरो रहेको फिल्म वफाबाट बलिउड छिरेकी हिरोइन खान एक वर्षअघि परिवारसहित वेपत्ता भएको खबर सार्वजनिक भएको थियो। लैलाका बाबुले मुम्बई पुलिसमा उनीलगायत उनकी आमा र एक आफन्तलाई इकवाल तकले अपहरण गरेको उजुरी गरेका थिए।
साथै लैला खानको आतंककारी समूह लस्कर ए तोयवासँग सम्वन्ध रहेको संका गरिँदै आएको थियो। उनले मुम्बईका फोटो र नक्सा उक्त समूहलाई उपलव्ध गराएको आरोप थियो। दिल्ली उच्च न्यायालयमा सन् २०११ को सेप्टेम्बरमा भएको वम विस्फोटमा उनले चढ्ने गरेको मित्सुविसी आउटलेन्डर कारको प्रयोग भएको थियो।
यसकै आधारमा पनि उनलाई लस्करसँग जोडिँदै आएको थियो। लैलाले महाराष्ट्रको इजातपुरीमा फार्म हाउस किनेकी थिइन्।
यो स्थानबाट आतंकवादी गतिविधि संचालन गरेको हुनसक्ने प्रहरी अनुमान छ।